‘मेरो त घुँडाको हाड नै खिइएजस्तो छ, अब त जीवनभर खोच्याएर हिँड्न पर्ने भयो ।’ ६० बर्ष कि उनले साथीभाइसँग पनि सल्लाह गरिन्। प्रायः सबैले घुँडाको हाड खिइयो, आराम गर, युरिक एसिड भयो, अब प्रोटिन नखाऊ भन्नेजस्ता सल्लाह दिए। यस्ता सल्लाहले मात्र काम दिएन । त्यसपछि उनी हड्डी विशेषज्ञलाई देखाउन गइन्।
चिकित्सकले जाँच गरेर भने, ‘तपाईंको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशीहरु कमजोर भएकोले दुखेको हो ।’ उनको घुँडाको एक्सरे देखाउँदै पुनः भने, ‘खोइ तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । तपाईंले विशेषज्ञबाट सिकेर घरमा हरेक दिन व्यायाम गर्नुपर्छ। साथै तौल घटाए झन् राम्रो।’
आफ्नो घुँडा नखिइएको सुनेर ती महिला दङ्ग परिन् । त्यही दिनदेखि उनले फिजियोथेरापी केन्द्रमा गएर केही व्यायाम सिकिन् । घरमा आएर पनि प्रत्येक दिन व्यायाम गरिन् । पहिलो दिन केही गाह्रो भयो । घुँडा बढी दुखे चिसो पानीले सेक्नु भन्ने उनले सल्लाह पाएकी थिइन् ।
त्यही अनुसार घुँडा बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकिन् । ५–६ दिनपछि उनलाई घुँडाको दुखाइमा केही कमी आयो । घुँडा दुखेर चल्न पनि गाह्रो पर्ने उनलाई भ¥याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । तर पूर्णरुपमा ठीक हुन त झन्डै ३ हप्ता लाग्यो।
उनले आफ्नो भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खान्थिन् । २ हप्तापछि उनको दुखाइमा ७० प्रतिशत कमी आयो । उनी पुनः फिजियोथेरापी केन्द्रमा गएर खुट्टाको केही नयाँ व्यायाम पनि सिकिन् । उनले हिलवाला जुत्ता चटक्कै छोडिन्। तौल पनि २ किलो जति घटाइन् । अहिले उनले व्यायामलाई दैनिक जीवनको अङ्ग नै बनाइएकी छिन् । यस्ता धेरै महिला र पुरुषहरु छन् जो हाड–जोर्नीको दुखाइले हैरान हुन्छन्।
तर के गरेर दुखाइ कम गर्ने भन्ने थाहा हुँदैन । चिकित्सकको परामर्श लिएर उपचार गर्नु त पर्छ नै, उमेरसँगै हुने हड्डीको क्षय र घुँडा दुख्ने समस्यालाई पूर्णरुपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेकचोटि घुँडा दुख्नेबित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने सधैँ सत्य हुँदो रहेनछ। घुँडाको मांसपेशीको कमजोरीको कारणले घुँडा दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ । त्यसैले तौललाई बढ्न नदिन युवाहरु पनि जागरुक हुनुपर्छ।
५ फिट उचाइ र ८० किलो तौल भएकी मिनालाई घुँडा दुख्ने समस्या भएको थियो । स्वास्थ्यकर्मीले उनलाई स्वस्थकर खाना खाएर र व्यायाम गरेर शरीरको तौल घटाउन सल्लाह दिए । मिनाले १२ महिनामा २५ किलो तौल घटाइन् । उनले खानामा भात र रोटी कम गरिन् । दाल र तरकारी बढी खाइन् ।
अहिले उनको घुँडा दुखाइ हराएको छ । मिना अहिले पनि याद गर्छिन् । ‘१० वर्षअघि मेरो घुँडा नदुखेको भए मैले तौल घटाउन प्रयत्न गर्दैनथेँ । अनि अहिलेसम्म मलाई कति किसिमका रोग लागिसक्थे होलान् ।’व्यायमले घुँडा र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छन् । तर यो जानकार व्यक्तिसँग सिकेर मात्र गर्नुपर्छ । कतिपय आयुर्वेदिक एवं प्राकृतिक चिकित्सकले पनि यो विषयमा सल्लाह दिने गर्छन् । साथै जीवनशैली परिवर्तनसम्बन्धी सुझावहरु पनि उपयोगी हुन्छन्।
घुँडाको दुखाइले सुत्न नै गाह्रो हुन्छ भने केवल व्यायामले मात्र पुग्दैन, विज्ञहरुको सल्लाह लिनै पर्छ । घुडाँको दुखाइ कम गर्न स्वस्थ जीवनशैलीमध्ये हाई हिल भएको जुत्ता नलगाउनु पनि एक हो । यदि कतै जाँदा काम विशेषले ठूलो हिलको जुत्ता लगाउनुपर्ने भएमा काम सकिनेबित्तिकै त्यो जुत्ता फुकालिहाल्नु उचित हुन्छ । महिलाहरुले दिनभरि हाई हिल भएको जुत्ता लगाउँदा उनको पुठ्ठा, कम्मर र घुँडा तीनवटै दुख्न सक्छ । त्यसैले महिलाहरुले विचार गर्नुपर्छ।