काठमाडौं । गर्मी महिना लागेसँगै केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ ।
लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ ।
लूका असर र जोगिने उपाय
बालबालिकालाई तातो हावारलूबाट जोगाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न सुझाव प्रस्तुत गरेको छ ।
बालबालिकालाई तातो हावा-लूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ ।
यस्तै, हल्का रङको सुतीको कपडा लगाइदिनुपर्छ । टाउको ढाकेर राखिरहन अह्रराउनुपर्छ । त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्न लगाउनुपर्छ ।
पत्रु खाना (जंक फुड)को प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने गर्नुपर्छ ।
दिउँसो १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन दिनु हुँदैन । गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न लगाउनुपर्छ ।
यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ ।