टन्सिल प्राय बच्चा उमेरदेखि नै सुरु हुने भएपनि उमेर ढल्कदैं जाँदा यस समस्या बढ्दै जान्छ । टन्सिल नाक, कान घाँटीमा असर गर्ने एक प्रकारको डल्लो हो, जुन हाम्रो शरीरमा नै हुन्छ । टन्सिलले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । टन्सिल जिब्रो पछाडी रहेको घाँटीको भागमा हुने गर्छ । प्राय टन्सिल भन्नेबितिकै घाँटीमा हुने भन्ने बुझिन्छ । तर नाक पछाडीतर्फको भागमा पनि टन्सिल हुने गर्छ । मुख्यतया बच्चाहरुलाई धेरै असर गर्ने टन्सिल घाँटीमा हुने गर्छ ।
टन्सिल हुनुका कारण
नेपाल लगायत दक्षिण पूर्वी एसियाका मुलुकहरुमा चिसोका कारण टन्सिल बढेको पाइन्छ । चिसो एक प्रकारको एलर्जी पनि हो । धुँलो धुवाँ तथा घाँटीमा चिसोले संक्रमणका कारण टन्सिल बढ्दै जान्छ । बच्चालाई चिसोले आक्रमण गरेंसँगै भाइरल सुरु हुने गर्छ । जसकारण टन्सिलको समस्या बढ्छ ।भाइरल सुरु भएसँगै किटाणुहरुका कारण पाक्न थालेपछि टन्सिलले समस्या ल्याउने गर्छ।
टन्सिलका लक्षण
शरीरमा उच्च तापक्रम देखापर्नु,
सुक्खा खकार आउनु,
जिउ काँप्ने गरी ज्वरो आउनु,
स्वास गन्हाउनु,
गला भित्रको भाग रातो हुनु,
आवाज भारी हुनु ,
खाना निल्न गाह्रो हुनु ।
बालबालिकालाई टन्सिल भएपछि कस्तो खानेकुरा खुवाउने, कस्तो नखुवाउने
अमिलो, पीरो र चिसो खानेकुरा नखुवाउने ।
खानामा तेल मसला कम प्रयोग गर्ने ।
बालबालिकाको खानेकुरामा सागपात, गेडागुडी लगायत सम्पूर्ण खानेकुराहरु समावेश गर्ने ।
साँझको समयमा बच्चालाई ननुहाउँने ।
भुइँकटहर, केरा, सुन्तला नखाने ।
आरुबखडा, खरबुजा, मेवा र स्याउ पनि नखाने ।
के टन्सिल भएका बालबालिकालाई मुटु रोग लाग्छ
पहिला पहिला मुटु रोग लागेका बालबालिकाहरुलाई मुटु रोगको समस्या धेरै नै देखा पर्ने गथ्र्यो । जसकारण बालबालिकाको मुटुको भल्भहरु सुन्निने तथा खराब हुने गथ्र्यो ।
अहिले मानिसहरुमा आएको स्वास्थ्य चेतनाका कारण यस्तो समस्या कम हुँदैं गएको पाइन्छ । आजभोली धेरैजसो बालबालिकाहरुमा टन्सिल हुन भन्दा अगाडि नै उपचार हुने भएकोले टन्सिलका कारण हुने मुटु रोग कम भएको पाइन्छ ।
टन्सिल पछिको उपचार
बच्चालाई रुघाखोकी लागेर टन्सिलको सुरुवात हुने गर्छ । घाँटी दुख्नुका साथै ज्वरोसमेत अत्याधिक आउने गर्छ । बच्चा बिरामी भएपछि अभिभावकले उनीहरुलाई उपचारका लागि मेडिकल तथा अस्पतालले लैजाने गरिन्छ । सकेसम्म यस्तो अवस्थामा बच्चाहरुलाई एन्टिबायोटिक खुवाउनु हुँदैंन । अन्तिम अवस्थामा चिकित्सकको सल्लाह बमोजिम ५ देखी ७ दिनसम्मको लागि एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ ।
यदि बच्चाले घाँटी दुख्यो भनेको अवस्थामा त्यसको कारण पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । बच्चाले टन्सिल भएपछि विभिन्न लक्षणहरु देखाएसँगै ती लक्षणहरुलाई कम गर्नुपर्ने हुन्छ । टन्सिलका कारण अत्याधिक दुखाई भएको छ भने सर्वप्रथम ती दुखाईलाई कम गर्नुपर्ने हुन्छ ।
ज्वरो आएको अवस्थामा ज्वरो कम गराउनका लागि औषधि दिनुपर्ने हुन्छ । यदि घाँटी कुल्ला गर्न सक्ने बच्चा छ भने कुल्ला गर्नका लागि औषधि दिनुपर्ने हुन्छ ।
पटक-पटक टन्सिल भइरहे शल्यक्रिया गरेर यसलाई निकाल्नु नै उचित हुन्छ। वर्षमा तीन/चार पटक टन्सिल पाकिरह्यो भने यसलाई निकाल्नु पर्छ। दुई वर्षमा तीन पटकसम्म वा पाँच सात वर्षसम्म बर्सेनि टन्सिल पाकिरहे पनि यसलाई शल्यक्रियामार्फत झिकेर फ्याक्नु राम्रो हुन्छ ।