काठमाडौं । गर्मी मौसममा रोगको संक्रमण छिटो फैलन्छ । हावा, पानी, लामखुट्टृे लगायतका किटबाट सरुवा रोगको संक्रमण हुने गर्छ । विशेष गरी टाइफाइड, झाडापखाला, भाइरल हेपाटाइटिस, आउँ जस्ता रोगको जोखिम गर्मी मौसममा बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो वर्ष पनि सरुवा रोगको जोखिम बढेको बताउँछन् ।
गर्मी मौसममा लाग्ने अधिकांश रोगको सम्बन्ध खानपिन र सरसफाईसँग हुन्छ । ठेउला, दादुरा, रुघाखोकी जस्ता सरुवा रोग हावाबाट, टाइफाइड, हेपाटाइटिस ए र ई, झाडापखाला, हैजा लगायत रोग दूषित पानीबाट सर्ने गर्छ । गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यसको जोखिम उच्च हुने डा पुनले बताए। ‘गर्मी महिना लाग्दै गर्दा धेरै मानिस बाहिरै घुम्ने बाहिरै खाने प्रचलन धेरै छ, यसले पनि रोग फैलन धेरै मद्दत पुगिरहेको छ’, डा. पुनले भने।
टाइफाइड पानी र दूषित खानाबाट सर्ने रोग हो । नेपालमा वर्षेनी देखिने अर्को समस्या झाडापखालाको हो । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टाइफाइड, आउँ, जण्डिसका बिरामी देखा पर्न थालिसेकेका छन् ।
सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरफाईका साथै खानपिनमा ध्यान दिन डा. पुनको सुझाव छ । रोगबाट बच्न पहिले आफै सर्तक रहनुपर्ने बताउँदै डा. पुन भन्छन् ‘बाहिर खाँदा खानेकुरा कतिको सफा छ, पानी कतिको शुद्ध छ त्यो विचार गर्नुपर्यो ।’ सकेसम्म घरमै पकाएको खानेकुरा खाँदा पनि रोगहरुबाट बच्न सकिन्छ । परिवारकै केही सदस्यमा समस्या देखिए अन्यलाई पनि सर्न सक्ने सम्भावना तिव्र हुन्छ।
विभिन्न रोगको महामारी विशेष गरी गर्मी मौसमै फैलिने गर्छ। मौसमी रुघाखोकी देखि भाइरसजन्य रोगको जोखिम पनि गर्मी मौसममा बढी हुन्छ । त्यसैले यी रोगको बारेमा जानकारी राखी समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिन्छ।