काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि नेपालीले उपचारबाट बन्चित हुनु नपर्ने बताएका छन् ।
जावलाखेलस्थित लाईफलाईन हेल्थकेयर पोलिक्लिनिक एवं वेलनेसले बुधबार आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रमको अवसरमा स्वास्थ्य मन्त्री बस्नेतले हरेक अस्पतालले नियम अनुसार १० प्रतिसत शैया विपन्नका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताए ।
बस्नेतले भने, ‘स्थानिय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नु पर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’
सूर्तिजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निशुल्क उपचार गर्न सकिने जिकिर गर्दै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने बताए । कोभिड १९ को बेलादेखि नै आफु विरामीको निशुल्क उपचार सेवाका लागि औषधि, अक्सिजन सिलिन्डर र सर्जिकल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निशुल्क स्वास्थ्य सिविरहरुबाट पनि हजारौ विरामी लाभान्वित हुने गरेकोमा जोड दिए ।
मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पती भएको बताउदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनु पर्ने सुझाव दिए । कार्यक्रममा निशुल्क स्वास्थ्य सिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कोभिड १९ का बेला स्थापना भएको लाईफलाईन हेल्थकेयरले बिगत ८ महिनादेखि पोलिक्लिनिकको रुपमा उपचार सेवा प्रदान गरिरहेको छ ।
यसले देशका विभिन्न भागमा स्वास्थ्य सिविर सञ्चालन गरेर विपन्न विरामीलाई उपचारमा सहजिकरण गर्दै आइरहेको हेल्थकेयरका वोर्ड अफ डाइरेक्टर समिर जोशीले बताए । काठमाडौ मेडिकल कलेजको सहकार्यमा हेल्थ केयरले विभिन्न सिविरबाट सिफारिस भएर आएका विरामीलाई काठमाडौं मेडिकल कलेजमा हुने शल्यक्रियामा ५० प्रतिशत छुट दिने गरेको जोशीले बताए ।