काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्यका कर्मचारीहरू विगत सात महिनायता तलब पाएका छैनन् । गएको मंसिरयता नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब पाएका छैनन् ।
लामो समयसम्म तलब नपाउँदा स्वास्थ्यकर्मीहरू निरास छन् । चालू आर्थिक वर्ष २०७९/०८०को अन्तिम समयमा आईपुग्दा समेत स्वास्थ्य सेवाका कर्मचारीहरूलाई तलव पाउने–नपाउने विषयमा समेत अन्यौलता छ । तलबको व्यवस्था गरिदिन पटक—पटक स्वास्थ्यकर्मीहरूले नगरपालिकासँग अनुरोध गरेका छन् ।
२०७८ मा वीरेन्द्रनगरमा धेरै संख्यामा स्वास्थ्यकर्मी समायोजन भई आएका थिए । स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका–२०७७ वमोजिम दरबन्दी रिक्त भएको स्थानमा समायोजन मार्फत कर्मचारी आएका थिए । यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कामकाज खटिई दरबन्दी रहेको पालिकाहरूबाट रमाना लिई आएका कर्मचारीहरूले अहिले विगत सात महिना देखि तलब, भत्ता भुक्तानी पाएका छैनन् ।
नगरपालिकाले यस अघि तलब खुवाएको थियो । तर अहिले तलब खुवाउन संघीय सरकारसँग माग गर्दा पनि तलव नआएको खबर पाएको स्वास्थ्यकर्मीहरूको भनाई छ । स्वास्थ्यकर्मी उदय थापाका अनुसार स्वास्थ्यका कर्मचारीहरू तलब नखाएरै सेवामा जुट्नु परेको बताउँछन् ।
अन्य कर्मचारीले समयमा नै तलब भुक्तानी सहित अतिरित्त सुविधा समेत लिईरहे पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले नै तलब पाउन नसकेको दुखेसो पोखे । उनले तलबको व्यवस्थापन गर्नका लागि पटक पटक नगरपालिकासँग पनि अनुरोध गरेको बताए ।
यसअघि कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले वीरेन्द्रनगरका लागि स्वास्थ्यकर्मी पठाएको थियो । त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था, २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको नगरपालिकाको तथ्यांक छ । यी स्वास्थ्यकर्मीहरू वीरेन्द्रनगर अन्तर्गतको नगर अस्पताल, स्वास्थ्य चौकीलगायतका स्थानमा कार्यरत छन् ।
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तलब पठाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको रहेको र मन्त्रालयले तलब नपठाएको जानकारी दिए ।