महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतया हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्छ । सामान्यतया १० वर्षको उमेरबाट सुरु भई ५०–५५ वर्षसम्म महिनवारी चल्न सक्छ । महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । यसलाइ महिनावारी गडबडी भएको भनेर बुझ्नुहुन्न । कति जनालाई पहिलोपटक भएर लामो समय नहुँदा चिन्ता लाग्ने गर्छ । तर त्यो सामान्य हो।
नियमित महिनावारी स्वस्थ प्रजननको आधार हो ।यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन इन्डोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको अवस्थामा महिनावारीको रूपमा शरीरबाट बाहिर निस्किन्छ ।
नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ।कलेज वा स्कुल पढ्ने किशोरीहरूमा पढाइ र परीक्षाको तनावले पनि महिनावारी गडबड हुन सक्छ । तनावले हार्मोन तलमाथि हुँदा महिनावारी गोलमाल हुन्छ । महिनावारी सुक्ने बेलामा पनि कतिपयमा समस्या देखिन्छ।
महिनावारीमा गडबडी किन हुन्छ ?
अत्याधिक व्यायाम : हिजोआज महिलाहरु आफ्नो शारीरिक बनावटलाई आकर्षक बनाउन र स्वस्थ रहन व्यायामलाई मुख्य प्राथमिकता राख्ने गर्दछन्। व्यायाम गर्नु नराम्रो बानी भने होइन, तर व्यायाम गर्दा आफ्नो शरीरलाई ध्यानमा राखेर गर्नुपर्दछ।
दैनिकरुपमा उचित व्यायाम र स्वस्थ खानेकुराले महिलाको सम्पूर्ण स्वास्थ्यलाई लाभदायक हुने गर्दछ। तर, शरीरको आवश्यकता भन्दा बढी व्यायाम र कडा डाइटिङको नियममा बस्ने गर्दछन् । जसले गर्दा महिलाको शरीरमा हर्मोन्सको गडबडी हुन जान्छ जसको प्रत्यक्ष असर महिलाको महिनावारीमा देखिन सक्छ।
गर्भनिरोधक औषधिको प्रयोग : विवाहित महिलाले सन्तानको जन्मान्तर कायम गर्न वा अनिच्छित गर्भ रहनबाट रोक्न गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन्। यस्ता औषधिको प्रयोगले महिलाको शरीरमा रहेको एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको सन्तुलनलाई असर गर्ने गर्दछ, जसले गर्दा महिनावारीको चक्रमा वाधा उत्पन्न हुन्छ। यसैगरी, यस्ता औषधिको प्रयोगले भविष्यमा रजोनिवृत्ति पनि चाँडै हुने चिकित्सकहरुको बुझाइ छ। गर्भनिरोधबाहेक अन्य रोगका नियमित औषधि सेवन गरेका महिलाहरुमा पनि महिनावारी गठबड हुन सक्छ ।
उच्च तनाव स् उच्च तनावले महिलाको हार्मोनमा सीधा प्रभाव पार्ने गर्दछ। तनावका कारण सेक्स हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोन को उत्पादनमा हस्तक्षेप गर्दछ। यदि रगत प्रवाहमा तनाव हार्मोन बढ्यो भने यसले मासिक चक्र पनि प्रभावित गर्छ।
पिसिओस र पिसिओडीका कारण : पिसिओस र पिसिओडीका एक यस्तो समस्या हो, जसले हर्मोनको सन्तुलन बिगार्दछ । यस बाहेक यदि अण्डाशयमा सिस्ट जम्मा भएको छ भनेपनि यसले महिनावारीको चक्रलाई असर पार्दछ।
मदिरा वा धुमपान : अत्यधिक मदिरा पिउने बानी र धुमपानको सेवनले पनि एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनहरूलाई असर गर्छ। साथै यसले कलेजोलाई पनि प्रत्यक्ष हानी गर्छ साथै यसले गर्दा महिनावारी पनि समयमा हुँदैन।
शरीरको तौल घट्नु वा बढ्नु : महिलाहरुको शरीरको तौलको घटबढले पनि महिनावारीको अनियमिततालाई बढावा दिने गर्दछ। शरीरको तौल अचानक घट्ने वा बढ्ने भयो भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तर बिग्रन्छ, जसले गर्दा महिनावारीमा अनियमितता आउने गर्दछ।
गलत खानपान : महिनावारीमा समस्या आउनु मुख्य कारण हो, गलत खानपान । हिजोआजका महिला तथा युवतीहरु बजारमा पाइने जंक फुड्स, मसालेदार खाना लगायतका यस्ता शरीरलाई नोक्सानी गर्ने खानपिन तिर बढी आकर्षित हुने गर्दछन्। जसले गर्दा मासिक चक्रको अनियमियततालाई बढाउने गर्दछ।