परिचय
क्यान्सर मानव शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ । यद्यपि पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरु मृत्युको शिकार हुन बाध्य छन् । एचपीभी भाइरसको संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने गर्छ ।
यस भाइरसको धेरै प्रकारका प्रजाती रहेका छन् । पाठेघरको मुखको क्यान्सर १८ प्रकारका भाइरसका कारण हुने गर्छ । यस प्रकारको क्यान्सर भएका करिब ८० प्रतिशत महिलाहरुमा यो भाइरस देखिएको छ । यसको विभिन्न प्रजातीले पाठेघरको मुखको क्यान्सर मात्रै नभई अन्य प्रकारका रोगहरु समेत ल्याउने गर्छ । विभिन्न प्रजाती अनुसार घाँटी, मलद्वार लगायत विभिन्न प्रकारको क्यान्सर हुने गर्छ ।
पाठेघरको मुखको क्यान्सर पश्चात् कस्ता लक्षणहरु देखा पर्छन्
क्यान्सरको सुरुवाती समयमा खासै लक्षणहरु नै देखा पर्दैनन् । सुरुवातको समयमा कुनै पनि लक्षण देखा नपर्ने कारणले नै समय समयमा परीक्षणको आवश्यकता परेको हो । क्यान्सर भइसकेपछि पानी बग्ने, रगत मिसिएको पानी बग्ने,यौन सम्पर्कपश्चात् रगत बग्ने लगायतका लक्षणहरु देखा पर्ने गर्छन् । प्रारम्भिक चरणमा लक्षण नदेखिने कारण पनि धेरै महिलाहरुको मृत्यु हुने गर्छ ।
सुरुवातको चरणमा पता लगाउन सकेको अवस्थामा पाठेघरको मुखको क्यान्सरलाई उपचार गर्न सहज हुन्छ । समय समयमा स्क्रिनिङ गरेर यसलाई सहजै पत्ता लगाउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिमबाट कसरी बँच्ने
यो यौन सम्पर्कसँग सम्बन्धित रोग हो । यसबाट बँच्नका लागि जोखिम गराउने तत्वसँग बँच्नु आवश्यक हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बँच्न निम्नलिखित उपायहरु अपनाउन सकिन्छ ।
– उपयुक्त उमेरमा मात्रै विवाह गर्ने ।
– सानै उमेरमा यौन क्रियाकलापमा सामेल नहुने ।
– एक भन्दा धेरैसँग यौनसम्पर्क नगर्ने ।
– धेरै बच्चा नजन्माउने ।
– सरसफाईमा विशेष ध्यान दिने ।
पाठेघरको मुखको क्यान्सरको जोखिम कम गराउने एचपीभी खोप के हो ?
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमनपापिलोमा भाइरसको विरुद्धमा दिइने खोप नै एचपीभी खोप हो । ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने ह्युमनपापिलोमा भाइरसले हो । त्यसैले यस विरुद्धको खोप लगाइ पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । यौन क्रियाकलापमा संलग्न नभएकाहरुलाई लगाउँदा यो खोप धेरै प्रभावकारी हुन्छ । ९ देखी १४ वर्ष उमेरमा जति छिटो यो खोप लगाउन सक्यो यसको प्रभावकारिता त्यति नै बढी हुन्छ । यौन क्रियाकलापमा संलग्न भइसकेकाहरुले भने एचपीभी भाइरसको परीक्षण गराएर मात्रै यो खोप लगाउन सक्छन् । ४५ वर्ष सम्मकै महिलाहरुमा लगाउन सकिएपनि ९ देखी १४ वर्ष उमेर समुहका किशोरीहरुमा यो बढी प्रभावकारी हुन्छ ।
पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमनपापिलोमा भाइरस हो । बजारमा उपलब्ध सिकोलिन, सर्भरिक्स, गार्डशिल र गार्डशिल९९ जस्ता खोप जती पनि छन्, सबैले त्यो भाइरसलाई फैलिनबाट रोक्ने हो । जब खोप लगाइन्छ उक्त भाइरस शरीरमा पर्न नदिनका लागि शरीरले प्रतिरक्षा क्षमता बनाउने काम गर्दछ । शरीरको प्रतिरक्षा प्रणालीले एन्टीबडी निकाल्ने गर्छ जुन शरीरमा अंगहरुमा जान्छ । यदि शरीरमा उक्त भाइरस पसेको अवस्थामा एन्टीबडीले उक्त भाइरलाई निक्रिय बनाउने गर्छ । क्यान्सरको मात्रै नभएर जुनसुकै खोपले पनि एकै प्रकारले काम गर्छ ।
सरकारले सरकारी तथा सामुदायिक विद्यालयका छात्राहरुलाई एचपीभी खोप दिने भन्ने निर्णय गरेतापनि अझै पनि कार्यान्वयन गर्न सकेको छैन । यद्यपि निजी क्षेत्रले चासो देखाएर यस खोपलाई नेपाल ल्याएसँगै पहुँच भएकाहरुले यो खोप लगाउने गरेका छन् । सिकोलिन नामक चिनियाँ कम्पनीले बनाएको खोपलाई प्रयोगका लागि सरकारले समेत अनुमति दिइसकेको अवस्था छ । पाठेघरको मुखको क्यान्सर गराउने करीब १८ प्रकारका भाइरसहरुका लागि यो खोप प्रभावकारी छ । यसका लागि सर्भरिक्स ,गार्डशिल तथा सिकोलिन लगायतका भ्याक्सिन उपलब्ध छन् ।