काठमाडौं - काखी, गर्धन, घाँटी, ढाड, पाखुरा, चाक, साँप्रा, पिँडौला आदि ठाउँमा पिलो झैं भएर निस्कने र कहिलेकाहीं पिलो भन्दा ठूलो भएर सुन्निने छालाको समस्यालाई बालतोड भन्ने गरिन्छ । यसलाई अंग्रेजीमा फुरुन्कल्स वा ब्वाइल्स भनिन्छ । यो छाला भित्र रौंका जरामा स्टाफाइलोकोक्कस नामक ब्याक्टेरियाको संक्रमणका कारण सुन्निने र पीप जम्मा हुने समस्या हो । शरीरका रौं भएका र बढि घर्षण हुन सक्ने स्थानमा यो समस्या देखा पर्दछ । शुरुमा रातो र सुन्निएको गाँठो जस्तो देखिने यो घाऊ बढ्दै गएर बीचमा पहेंलो पीप जम्मा भएको स्वरुपमा देखा पर्दछ ।
झण्डै आधा इञ्च वा सो भन्दा ठूलो आकारको गाँठोका रुपमा देखिने यसले निम्न लक्षणहरु देखाउँछ
गाँठोका चारैतिर छाला रातो देखिनु
दुख्नु र सुन्निनु
पिलो जस्तो देखिने सो ठाउँ छाम्दा अन्यत्र भन्दा तातो हुनु
ज्वरो आउनु
लिम्फ नोडहरु पनि सुन्निनु
पीप भरिनु, बाहिरबाट हेर्दा बीचमा पीप र वरिपरि रातो घेरा जस्तो देखिनु
कारण
बालतोड स्टेफाइलोकोक्कस औरियस नामक ब्याक्टेरियाको संक्रमणका कारण हुन्छ । छालामा भएको सानो घाऊ वा कोतरिएको ठाउँबाट यो जीवाणु शरीरमा प्रवेश हुन्छ र रौंको जरामा भएको चिल्लो पदार्थ खाएर वृद्धि हुन थाल्दछ ।
यस्ता स्वास्थ्य समस्याहरु छालाको संक्रमणका लागि जिम्मेवार हुन्छन् –
चिनी रोग
रोग प्रतिरोध क्षमतामा कमी
असन्तुलित आहार
सरसफाईमा कमी
छालालाई नोक्सान पुर्याउने रसायनको प्रयोग
बालतोडको निदान सजिलो हुन्छ । यदि घाऊबाट पीप बगिरहेको छ भने परीक्षण गरेर थाहा पाउन सकिन्छ ।
उपचार
शुरुमा सानो स्टेरिलाइज्ड सियोको सहायताले सुन्निएर पाकेको घाऊको मुखमा घोप्ने र बालतोडमा भएको पीप निचोरेर बाहिर फ्याँक्नुपर्छ । जति रौंका जरामा यो संक्रमण भएको छ तेति रौंहरु उखेलिन पनि सक्छन् ।
पीप निचरी सकेपछि सो ठाउँलाई तातो पानीमा सफा कपडा भिजाएर सेक्नु राम्रो हुन्छ । पिभोडिन पाउडर दल्नाले घाऊ चाँडो निको हुने सम्भावना हुन्छ ।
समस्या अन्यत्र फैलन खोजेको देखिएमा डाक्टरले एन्टिबायोटिक औषधि समेत खाने सल्लाह दिनसक्छन् ।
बालतोडबाट बच्ने उपाय
शारीरिक स्वच्छतामा ध्यान दिने
बालतोड लगायत अन्य छाला सम्बन्धी रोग लागेका मानिसले प्रयोग गर्ने गरेका रुमाल रेजर आदि को साझा प्रयोग नगर्ने
आफ्नो वरपरको वातावरण सफा राख्ने
(डा संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ हुन्)