काठमाडौं । विगत नौ वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउने काम भइरहेको छ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरिरभित्र रहेका अनेकाँै रोगहरूको उपचार यसबाट सहजै रूपमा सम्भव भएकोले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौँ मानिस लाभान्वित भएका छन् ।
वर्तमान अवस्थामा योगिक विज्ञान जति महत्वपूर्ण सावित भइरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी महत्वपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वंश दुबै गर्न सक्षम छ र गरिरहेको छ पनि ।
यस्तो अवस्थामा यो निकै महत्वपूर्ण हुन जान्छ कि हामीलाई जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम रहोस् ताकि हामी प्रत्येक प्राणीमा आफैँ शरीरको अंश रहेको अनुभूति गर्न सकौँ । यदि मानवजाति आफ्नो जीवनमा एकात्मकतालाई तथा जीवनको योगलाई सम्झिरहेका छन् त्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्य पनि ठूलो परिवर्तन आउन सक्नेछ । जीवन प्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन, व्यापकतामा कमी ल्याएर मात्रै मानव जातिका सबैखालै समस्याहरूको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ ।
योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तत्व केन्द्रित रहेको हुन्छ । योग भनेको जोड्नु हो । योगले प्रेम, अहिंसा करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव आफूमा केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि सावित हुन सक्दछ ।
योग हाम्रो विरासत हो । नेपाल एवं भारत दुई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्वको देश अवश्य पनि छन् तर हिन्दू धर्म, संस्कृति, पुराण, वेद, उपनिषद, देवी देवता, तीर्थस्थल महान ऋषिमुनिहरू हाम्रो निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातः स्मरणीय छन् । योगको बारेमा विश्व जगतलाई अवगत गराउने काम विगतमा पनि नभएका होइनन् तर त्यो साह्रै सीमित थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आफ्नो अमेरिकाका यात्रा दौरान तथा संयुक्त राष्ट्र संघमा योगको महत्वबारे विश्व जगतलाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्वव्यापी मान्यता हासिल ग¥यो । इस्लामिक देशहरूसहित विश्वका झन्डै दुई सय देशहरूले अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन् । साउदी अरब र इरान जस्ता कट्टर इस्लामिक देशहरूमा पनि राजकीय स्तरबाट यसको आयोजना गरिरहेका छन्।
हाम्रा महान ऋषिमुनिहरूप्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुनेछ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोगजस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्व जगतलाई धेरै थोक दिएको छ ।
योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ मार्सल आर्टका जनक पनि हिन्दू र बौद्ध सन्तहरू नै थिए । हिन्दू संस्कृति जस्तै युनान, मिश्र, अरब एवं अनेकौँ संस्कृतिहरूले विश्वजगतलाई केही न केही अमूल्य निधि प्रदान गरेको छ । शून्य र दशमलवको प्रयोगको थालनी पनि यहीँबाट भएको हो ।
योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान संकीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनन्त छन् । हामी सबै एकाई मात्रै हो जबकि अस्तित्व सम्पूर्ण । एकाई हुनु दुःख हो भने अनन्त हुनु आनन्द हो । योग एकाईमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोड्नु । पतञ्जली (इशापूर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलीभन्दा पनि प्राचीन हो । मनुष्य एवं ब्रम्हाण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै सुरु भएको हो ।
विश्वका अनेकाँै देशले यसलाई अपनाउने काम गरे तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महत्व एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुसी मनाउनुपर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व पनि बढ्नेछ । मीमांसा, न्याय वैदेशिक सांख्य वेदान्त एवं योग भारत वर्षका सात प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहीँबाट भएको हो तर सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ्य शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरू काम गर्दागर्दै एक सय वर्षसम्म बाँच्ने अभिलाषा गर्दथे।
२१ जुनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्दछ । सम्भवतः यिनै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्र संघले गरेको हुन सक्दछ । यसभन्दा अघि सन् २०११ मा भारतको दक्षिणी प्राप्त बेंगलुरुमा विश्वका केही योग गुरुहरूको बैठकमा पनि २१ जुनका दिनलाई योग दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो ।
सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको श्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौँ ।
जबकि यथार्थमा योगको अर्थ त जोड्नु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु । जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान पनि कहलिन्छ । ऊर्जामा वृद्धिको निम्ति मात्रै जोडिनु नै पर्याप्त होइन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्दछ । एकआपसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्दछ । जोड्नु त्यतिबेला मात्रै सम्भव हुन सक्दछ जब दुबैको दिशामा एउटा मात्रै रहेको हुन्छ । जोडिएपछि दिशा भिन्दाभिन्दै भयो भने ऊर्जाको क्षण मात्रै हुन्छ ।
योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम विन्दूसम्म पु¥याउनु हो । यसको निमित्त योग दिशा तथा जोडनुको सिद्धान्तलाई सँगसँगै लिएर हिँड्ने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनवटैलाई कुनै एउटा निश्चित विन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो ।
ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्ला बेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीन वटैलाई प्राप्त भइरहेको हुन्छ । योगमा मनलाई प्राण (स्वास) सित सामन्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रूपमा बढी प्रबल हुन जान्छन् अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुने गर्दछ । जब व्यक्ति यी तीन वटै माथि नियन्त्रण स्थापित गरी यी मध्ये कुनै पनि काममा आफूलाई लगाउने गर्दछ अनि कार्यको गुणस्तर तथा संख्याको दृष्टिमा पनि कैयाँै गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धतिसँगको सम्बन्ध पनि हो ।