काठमाडौं ।तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ नेत्र विशेषज्ञ डा. रिता गुरुङ्गको प्राविधिक टोलीबाट हुम्लाको सर्केगार्ड गाँउपालिकामा यहि आषाढ १ र २ गतृे मोतीविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । जसमा ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतिविन्दुको शल्यक्रिया र २ सय ४४ जनाको आँखाको जाँच गरिएको छ । साथै सोही स्थानमा ग्रामीण उपचार आँखा केन्द्रको पनि स्थापना गरिएको छ।
हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमिकोटबाट २ दिनको पैदल यात्रा पश्चात प्राविधिक टोली पुगेका हुन् । सो शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्डका आँखा बिरामीहरुले सेवा लिएका थिए ।
३ वर्षदेखि दृष्टिविहिन भएर कष्ठकर जिवन बाँच्नु परेका सर्केगाडका ६८ वर्षिय बैरा फडेराले शल्यक्रिया पश्चात दुवै आँखा देख्न सक्ने भएका छन् । त्यस्तै अर्को जमकला सार्की विगत २ वर्षदेखि दुवै आँखाले नदेख्ने भएकी थिइन जो करिव ६ घण्टाको हिडाइमा आफन्तले बोकेर शिविरसम्म ल्याइ पुर्याए पश्चात शल्यक्रिया मार्फत पुनः दृष्टि प्राप्त गरेकी छन् । तिलगंगा आँखा प्रतिष्ठान र सर्केगाड गाँउपालिकाको संयुक्त आयोजनामा संचालीत सो शिविरमा आर्थिक सहयोग सेवा फाउण्डेसनको रहेकोे थियो।
सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना
तिलगंगा आँखा प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा सर्केगार्ड गाँपालिकाको साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
सो केन्द्र संचालनको लागि प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी डा. रीता गुरुङ्ग र गाँउपालिकाको तर्फबाट अध्यक्ष ठान बहादुर रोकायले सम्झौत पत्रमा हस्ताक्षार गरेका छन् । ग्रामिण आँखा केन्द्रको उदघाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले गर्नु भएको थियो भने आँखा केन्द्रको उदघाटन गाँउपालिका अध्यक्ष ठान बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि दुई जना जनशक्तिको व्यवस्था साथै उपचारका लागि चाहिने उपकरणहरुको व्यवस्था गरेको छ भने एक वर्षपश्चात गाँउपालिकाले जनशक्तिको व्यवस्था गर्नुपर्नेछ । दुई पक्षीय सम्झौता तथा केन्द्रको शुभारम्भ कार्यक्रममा डा.रीता गुरुङ्गले दुर्गममा सेवा प्रवाह गर्ने प्रतिष्ठानको उद्देश्यअनुसार शिविर संचालन र केन्द्र स्थापना गरिएको बताए।