खासमा खानाले शरीरलाई निरोगी, तन्दुरस्त बनाउछ । तर, अहिले हाम्रो खानपान रोगको कारण बनिरहेको छ । कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । अपच एक निकै समान्य समस्या हो तर यो सानो समस्याले हाम्रो दिनलाई नै अस्तव्यस्त बनाइदिन्छ । ग्याँस बन्नु, पेट पोल्नु, एसिडिटी हुनु यो सबै अपचको लक्षण हो । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको पनि हुन सक्छ ।
बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। खाना राम्रोसँग पचेन भने पेटमा ग्यास भरिने, जीउ भारी हुने, बेचैनी हुने, बान्ता, रिंगटा लाग्नेजस्ता समस्या देखिन सक्छ । यो समस्याबाट छुटकारा पाउनका लागि थुप्रै औषधी पाइन्छ तर केही घरेलु तरिकाले पनि यो समस्यालाई टाढा राख्छ ।
अपचको समस्या हटाउने निम्न घरेलु उपचार प्रयोग गर्न सकिन्छ ।
- सौफ चपाएर वा दिनमा दुईपटक सौफको पानी बनाएर पिउनाले समस्या कम हन्छ ।
- एक कप तातो पानीमा दुईओटा ल्वाङलाई पिसेर हालने र पानी चिसो भएपछि पिउने
- दहीमा जीरा, नुन र कालो मरिच हालेर दैनिक खानाले अपचको समस्या समाधान हुन्छ ।
- अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
- भुइँ कटहरमा नुन र कालो मरिच हालेर खाँदा पनि अपचको समस्या टाढा हुन्छ ।
- खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।
- मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या कम हुँदै जान्छ।
- आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।
- पानी प्रशस्त पिउने गर्नुपर्छ।
- योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्ने