बच्चाहरु ले खाना खान नमन्नु हरेक आमा बाबु को गुनासो हुन्छ। आमाबुवा आफ्नो बच्चालाई धेरै भन्दा धेरै खानेकुरा ख्वाउन चाहन्छन्, ताकि बच्चामा कुपोषण नहोस् । तर पटक–पटक खाना खुवाउन प्रयास गर्दा पनि बच्चाले अर्कोतर्फ मुन्टो बटारेर झगडा गर्छन् । यसो गर्दा अभिभावक हैरान भएर कतिपय ले त बच्चालाई कुट्ने र हपकार्ने गरेको पनि पाइन्छ । हामीले बच्चालाई खानको लागि जत्ति दवाव दिन्छौं, त्यत्ति नै नकारात्मक भावनाको विकास हुन्छ। त्यसैले बच्चालाई खाना खुवाउँदा रमाइलो र हासीखुसीको वातावरण बनाउनुपर्छ।
अधिकांश अभिभावकको एउटै गल्ती यो छ कि उनीहरू बच्चाले खाना नखाएकोमा चिन्ता गर्छन्, कारण खोज्ने प्रयास गर्दैनन् । आफ्नो मनको कुरा बोल्न नसक्ने केटाकेटीको पीडा अभिभावकलाई थाहा हुदौन । तर अभिभावकले बच्चाको मनको कुरा बुझने प्रयास गर्नु पर्छ । बच्चाले खाना नखानुमा धेरै कुराको भूमिका हुन्छ । खाने वेलामा बच्चाले दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन एक समस्या बनेको हो ।
बच्चाहरुलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु निकै नै गलत कुरा हो । तपाईं आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चाहनुहुन्छ भने सर्वप्रथम अपनाउनुपर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई सामान्य ढङ्गले लिइदिनु नै हो। उनीहरु दु्रतगतिमा बढ्दै गर्दा धेरै खान्छन् अनि बढ्ने क्रम सुस्त भएको बेला कम खान्छन् । त्यस्तै शरीरलाई कार्बोहाइडेड, प्रोटिन, चिल्लो पदार्थ वा अन्य खनिज पदार्थ के चाहिएको हो, त्यही चिज सही मात्रामा खान मन पराउँछन्।
ठूलो मान्छेको जस्तै बालबालिकाको पनि खानाको रुची र अन्य कुराहरु फरक हुन्छन्। कहिले खानामा रुची हुन्छ, कहिले हुँदैन। कुनैबेला पेट भरिएर खान मन नलागेको पनि हुनसक्छ। धेरै ख्वाउँदैमा बच्चा स्वस्थ्य हुने होइन । सहि ढंगले शारीरिक तथा मानसिक विकासका लागि बच्चालाई सन्तुलित, पौष्टिक खानेकुराको आवश्यक हुन्छ । यस्तो खानपानका लागि बच्चालाई सानै उमेरदेखि प्रेरित गर्नुपर्छ, अभ्यस्त बनाउनु पर्छ ।
बच्चाको समस्याप्रति आमाको प्रतिक्रिया तथा बच्चालाई खुवाउने वेलाको आमाको मुडले खानामा प्रभाव पार्छ । आमाको मुडको प्रभावले गर्दा बच्चाले गाह्रो मानेर खाने अथवा खाँदै नखाने र आमाहरू धेरै रिसाउने, चिच्याउने गरेको पाइन्छ । पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुनेहरूमा बच्चाका आमाले बच्चासँग कम कुरा गरेको र उनीहरूको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेको देखाएको छ । बच्चाको खाना र खाना खाने समयको आधारभूत नियम हुन्छन् । जस्तै हरेक चार घन्टामा एकपटक खुवाउने, चार घन्टा नपुगी बीचमा केही पनि खाने तथा पिउने कुरा नदिने, तिर्खा लागेमा खाना खानुअघि दुई घन्टाअघि मात्र पानी पिउन दिनुपर्छ । खाना खाने समयावधि सीमित गरेर तोकिएको हुनुपर्छ, जस्तै ३० मिनेट।
बच्चाले खाना नखाने कारण
- जुका परेका बच्चाले पनि खाना खान आनाकानी गर्छन् ।
- एकै स्वादका खाना भएर
- ग्यास्ट्राइटिकको कारण
- समयसम्म एन्टिबायोटिक प्रयोग गरिएको छ भने
- खाना पच्न नसक्ने भएपछि बच्चाले खान पनि मन गर्दैनन् ।
- निमोनिया, टन्सिलजस्ता संक्रमण भएका वेला पनि बच्चाहरू खान मन गर्दैनन् ।
- रुघाखोकी, नाक टालिएको, झाडाबान्ता लागेको भए
- उनीहरूको इसारा नबुझेको, भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेकोले
खाना खुवान के गर्ने
-परिवारका अन्य सदस्यहरुले खाएको बेला बच्चालाई उपस्थित गराउने
- उनीहरुको खानेकुरा एकैनासे हुनुहुँदैन ।
- बच्चालाई मन नपर्ने परिकार परिवारका अन्य सदस्यले खाँदै गरेको देखाउ ने
- खाना खाने समयावधि सीमित गरेर तोकिएको हुनुपर्छ ।
- तोकिएको समय सकियो भने खाना बाँकी नै भए पनि प्लेट उठाउनुपर्छ ।
- खाने समयावधिभर मिठाई र चकलेट दिने काम गर्नु हुँदैन ।
- बच्चालाई खुवाउने वेलामा धेरै रिसाउने, चिच्याउने गर्नु हुदैन्
- बच्चाहरुलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु हुदैन्
- बच्चाहरुलाई डुलाएर खुवाउने
- खाना खुवाउने वेलामा बच्चासगं कुराकानी गर्ने
- परिवारका सबै सदस्यहरुले बालबालिकालाई पालैपालो खुवाउने
पछिल्लो समयमा बालबालिकालाई विभिन्न खेलौनाहरु दिएर, ल्यापटप देखाए्र र कार्टुन देखाएर खाना खुवाउने चलन बढ्दो छ। यो प्रवृति बालबालिकालाई भन्दा पनि खुवाउने बाबुआमाका लागि सजिलो हो। बच्चाले आफूले के खाइरहेको छु भन्ने थाह पाउदैन किनकि उसको ध्यान ल्यापटपमा ग्याजेटमा हुन्छ। टिभी हेर्दै जंक फुड खाने समस्यापनि उत्तिकै हुन्छ।
बच्चाहरुले किन खाँदैनन् भन्ने कुराको उत्तर त्यति सजिलो छैन । बच्चाहरुले नखानुमा अभिभावकले आफ्नै कमजोरी ठान्नु जरुरी पनि छैन, किनकि यसमा अभिभावकले बच्चालाई बुझ्नु नसक्नु मात्रै कारण नभई, वंशाणुगत गुण, जैविकता, बच्चाको मनोविज्ञान, बच्चाको स्वास्थ्य र खानाको स्वाद आदि विभिन्न कारणहरु निहित छन् ।