परिचय
ढाड दुख्ने समस्या जुनसुकै उमेर समूहका मानिसहरुमा देखा पर्ने गर्छ । आजकाल १८ वर्षका युवा युवतीहरुलाई पनि यस समस्याले सताउने गरेको पाइन्छ । १८ वर्षदेखि सुरु भएको यस समस्या ६० – ६५ वर्षको उमेरसम्म पनि रहन सक्छ ।
ढाड दुख्ने समस्या बढ्दै जानुका विभिन्न कारणहरु छन् । बसाईको पोजिसन नमिल्दा, धेरै समय एउटै पोजिसनमा रहेर काम गर्दा, सुताई नमिल्दा पनि ढाड दुख्न सक्छ । तर, ढाड दुख्नुको कारण यतिमा मात्र पनि सीमित छैन । पिसाबको संक्रमणमा, मेरुदण्डको मांसपेशी च्यातिएमा, नसाको समस्या भएमा ढाड दुख्छ । कतिपय अवस्थामा ढाड दुखाइले मिर्गौलामा समस्या भएको समेत संकेत गर्छ ।
ढाड दुख्नुका कारणहरु
– बढ्दो उमेर,
–मांशपेशीहरुको कमजोरी,
– बढी निहुरिएर काम गर्नुपर्ने अवस्था,
– भारी तौल भएका सामानहरु उचाल्ने, बोक्नेजस्ता काम गर्नुपर्ने अवस्था,
–लामो समयसम्म एउटै आसन वा पोजिसनमा बसेर, उभिएर काम गर्नुपर्ने अवस्था,
– चोटपटक,
– गर्भवती हुँदा र बच्चा जन्मिसकेपछि मांशपेशी र लिगामेन्ट कमजोर भएको अवस्था,
– शरीरका विभिन्न भाग जस्तैः मिर्गौला, महिलामा पाठेघर आदि अंगको समस्या
– मोटोपन,
कसरी थाहा पाउने ?
जब बिरामी ढाड दुख्ने समस्या लिएर चिकित्सक कहाँ आइपुग्ने गर्छन् । चिकित्सकले विभिन्न प्रकार परीक्षण गर्ने गर्छन् । चिकित्सकले एक्स- रे मार्फत् ढाडको पोजिसन हेर्ने गर्छन् । एक्स- रे पश्चात् चिकित्सकहरुले एम आर आई गर्छन् जसमा ढाडको नशा च्यापिएको छ या छैन भनी पत्ता लगाउन सहयोग गर्छ ।
उपचारविधी
अन्य रोगहरु जस्तै यूरिक एसिडका कारण पनि नसा च्यापिएर ढाड दुख्ने समस्या आउने गर्छ । समस्याको पहिचान भइसकेपछि बिरामीलाई औषधि दिने या फिजियोथेरापी गराउने भन्ने चिकित्सकले निर्धारण गर्छन् ।
आधुनिक उपचार पद्धतिमा प्लेटलेट रिच प्लाजमालाई डिस्कहरुको बीचको भागमा सुईको माध्यमा राखेर उचार गर्न सकिन्छ। तोकिएको रेडियोफ्रिक्वेन्सीमार्फत पनि यसको उचार गर्न सकिन्छ भने सम्बन्धित नसाहरुलाई सुईको माध्ययमबाट शिथिल बनाई दुखाइ कम गर्न सकिन्छ वा सम्बन्धित क्षेत्र लठ्याउने इपिड्युरल इन्जेकसन तथा मेरुदण्डको रहेको स्नायु तन्तुको उत्तेजनालाई समेत स्थुल पार्न सकिन्छ।
फ्यासेट जोर्नी दुखाइको लागि जोर्नीमा इन्जेकसन र डिस्क चिप्लिएर नसा च्यापिएको लागि ओजोन थेरापी गर्दै आएका छौं। यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टाभित्र डे केयर आधारमा गरिन्छ।
ढाड दुख्ने समस्याबाट कसरी बँच्ने ?
-लामो समयसम्म एकै ठाउँमा बस्न हुँदैन । एक घन्टा लगातार कुर्सीमा बसियो भने ५–१० मिनेट हिँड्नुपर्छ ।
-अगाडि धेरै झुकेर काम गर्नेमा ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनुपरे बिस्तारै उठाउनुपर्छ ।
-शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ । त्यसैले क्याल्सियम भएका खानेकुरा (दूध र यसबाट बन्ने खानेकुरा) प्रशस्त खानुपर्छ । शारीरिक व्यायाम अत्यावश्यक छ ।