काठमाडौं- काठमाडौंका सरकारी अस्पतालमा कोभिड९१९ को ओपीडी सेवा सुरु भएको छ। अस्पतालमा बिरामीको चाप घटाउन यस्तो सेवा सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता डा. गौतमका अनुसार कोभिड संक्रमित बिरामीलाई जाँच गरेर सामान्य भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओपीडीमै दिने र हेर्ने तर गम्भीर खालका बिरामीलाई भर्ना गरिने छ ।
पहिलो चरणमा सरकारी अस्पतालमा सुरु गरिएको यो सेवा निजी अस्पताललाई पनि संचालन गर्न निर्देशन दिइएको गौतमले बताए।
यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउनुका साथै अक्सिजन र बेड नपाउने समस्या पनि केहि हदसम्म काम हुने डा. गौतमले बताए।
कोही कोभिड संक्रमण भएर पनि घरमै बसेका छन्। यसको कस्तो प्रभाव देखिन्छ त्यसपछि थप अस्पतालमा पनि कोभिड ओपीडी सुरु गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ।
ठूला नीजि अस्पताललाई पनि सरकारले कोभीड ओपीडी सुरु गर्न निर्देशन दिएको छ। नर्भिक, मेडिसिटी, स्टार, अल्का, लगायत अस्पतालले पनि केही दिनमा ओपीडी सेवा सुरु गर्ने गौतमले जानकारी दिए।
यस्तै सरकारले साना अस्पताललाई कोभिडका गम्भीर बिरामी नराख्न निर्देशन दिएको छ। २० बेडभन्दा कम क्षमताका अस्पतालमा कोभिडका बिरामी राख्दा स्वास्थ्य सेवा नपुग्ने भएकाले यस्तो निर्देशन दिएको जनाएको छ।
बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा पर्ने भएकाले आइसोलेसनको रुपमा प्रयोग गरेपनि गम्भीर बिरामी भर्ना नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो।