काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ डाक्टरबाट मिर्गौलाको पत्थरीको उपचार थालेसँगै पत्थरी तथा मिर्गौलाका बिरामीहरुले राहत पाउन थालेका छन् । एक महिना यता नियमित रूपमा अत्याधुनिक लेजर प्रविधिबाट मिर्गौलाको पत्थरीको सफल अप्रेसन भइरहेकाे छ ।
कन्सल्टेन्ट युरोसर्जन, युरो ट्रान्सप्लान्ट विशेषज्ञ डा. वेष अन्सारीले नेपाल मेडिकल कलेजमा सेवा दिन थालेसँगै हप्ताको ६ दिन नै ओ.पी.डी. तथा अप्रेसन हुने गरेको छ । युरोलोजीमा पाकिस्तानबाट एमडी गरेर विगत ४ वर्षदेखि नेपालमा चिकित्सकीय सेवामा सक्रिय डा.अन्सारीले यसअघि नेपाल मेडिसिटी, सुमेरु अस्पतालमा सेवा दिइरहेका थिए । डा. अन्सारी नेपाल मेडिकल कलेजमा आबद्ध भएसँगै आम सर्वसाधारणले सर्वसुलभ शुल्कमै उनीबाट विशेषज्ञ सेवा प्राप्त गर्न थालेका हुन् ।
कलेजमा लेजर विधिबाट १ महिनायता हप्ताकाे ६ दिन नै पत्थरीको सफल शल्यक्रिया भइरहेको डा. अन्सारीले बताए । ‘हामीले एक महिना यता लेजर प्रविधिबाट पत्थरीको नियमित अप्रेसन गरिरहेका छौं । यस प्रविधिमा मुत्रनलीबाट किड्नीमा गएर लेजरले पत्थरी अर्थात् किड्नीमा भएको ढुङ्गा फुटाइन्छ र निकालिन्छ ।’ डा. अन्सारीले भने ।
लेजर प्रविधि मिर्गौलाको पत्थरी निकाल्न ९० प्रतिशत सफल विधि हो । लेजर विधिबाट पत्थरीको अप्रेसन चिरेर गरिने परम्परागत अप्रेसनभन्दा सहज विधि रहेको डा. अन्सारीको भनाई छ । ‘लेजर विधिको धेरै फाइदाहरु छन् । पहिलो त यसको सक्सेस रेट ९० प्रतिशत भन्दा माथि छ । दोश्रो मुत्रनली हुँदै स्कोपमार्फत किड्नीमा गएर ढुङ्गा निकालिने भएकाले चिरेर गरिने शल्यक्रिया जस्तो बिरामी धेरै दिन अस्पतालमा भर्ना भएर बस्नु पर्दैन ।’ पत्थरी निकालेको भोली नै बिरामीलाई डिस्चार्ज गरिने भएकाले समय र खर्च दुवैको बचत हुने डा. अन्सारीको दावी छ ।
नेपाल मेडिकल कलेजले अन्य नीजि अस्पतालहरु भन्दा धेरै नै सस्तो मुल्यमा सेवा दिइरहेको छ । पत्थरीको अप्रेसन गर्न नीजि अस्पतालहरुमा एक, डेढ लाख लाग्ने गरेकोमा नेपाल मेडिकल कलेजले त्यसको ५० प्रतिशत भन्दा कम शुल्कमा सेवा दिइरहेको छ ।
इलाम घर भई हाल गोठाटार बस्ने ४५ वर्षीय पदमकला तिमल्सीनाको किड्नीमा ४ वर्षदेखि २२ एमएमको पत्थरी थियो । ब्लड प्रेसरबाट समेत ग्रस्त तिमल्सीनाले सुरुमा राजधानीकै एक नीजि अस्पतालमा उपचार गर्ने मनस्थिति बनाएकी थिइन् तर, त्यहाँको चर्को शुल्क बुझाउने अवस्था उनको थिएन ।
पछि नेपाल मेडिकल कलेजमै अत्याधुनिक प्रविधि र विशेषज्ञ डाक्टरबाट किड्नीको सफल उपचार सेवा पाइने थाहा पाइन् । त्यसपछि दायाँबायाँ नसोची डा. अन्सारी कहाँ आएकी उनको गत जेठ २८ गते लेजर प्रविधिबाटै २२ एमएमको ढुङ्गा निकालियो । ‘मेरो किड्नीको अप्रेसन गरेको हो भन्ने फिल नै भएको छैन ।’ अप्रेसन गरिएको भोलीपल्टै ठमठम हिड्न थालेकी तिमल्सीनाले भनिन्,‘नेपाल मेडिकल कलेजले कम शुल्कमा गुणस्तरीय सेवा दिएकाले हामीजस्ता गरिब, मध्यम परिवारका नागरिकलाई धेरै राहत भएको छ ।’
अहिले नेपाल मेडिकल कलेजमा पत्थरीको मात्र हैन अन्य जटिल प्रकारका अप्रेसन गर्न र उपचार गर्ने बिरामीहरुको भिड लाग्ने गरेको छ । अस्पतालले पछिल्लो समयको नयाँ टेक्नोलोजीसँगै विशेषज्ञ सेवा सुरु गरेकाले सर्वसुलभ शुल्कमा गुणस्तरीय उपचार थालेको छ ।
‘नेपाल मेडिकल कलेजको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन कुनै कसर बाँकी राखेका छैनौं । यसलाई उपत्यकाकै सुविधा सम्पन्न अस्पताल बनाउँछौं ।’ आउँदा दिनमा मिर्गौला, कलेजो प्रत्यारोपण सेवासमेत थालनी गर्ने योजना बनाइरहेको बताउँदै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताए ।
त्यसो त नेपाल मेडिकल कलेजमा नेपालकै अत्याधुनिक डायलाइसिस सेन्टरसमेत छ । जहाँ दैनिक सय जनाभन्दा बढी मिर्गौला रोगीहरुले नियमित रुपमा डायलाइसिस गराइरहेको अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।