काठमाडौं। जिल्ला स्वास्थ्य कार्यालयले करीब २ हप्ताको अवधिमा जिल्लाका ६ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो।
कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख शहर बनेपा, पनौती, पाँचखाल, भम्लु लगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईंले बताए ।
उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो ।
‘जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ,’ स्वास्थ्य कार्यालयका डा. सेढाईंले भने । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा संकलन केन्द्र ट्यांकीको पानी दूषित देखिएको जनाइएको छ ।
कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उनले बताए । उनले भने, ‘जारमा खानेपानी बिक्री गर्ने कम्पनीको ३ स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो । यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौं ।’ काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छ।
खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । ‘हामी अझै शंकास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौं, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ,’ उनले भने ।
२ हप्तादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापन कार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको समेत स्वास्थ्य प्रमुख सेढाईंले बताए ।उनले भने, ‘सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौं ।’