काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले पहिलोपटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागू गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा बालबालिकाको भविष्य सुनिश्चितताको लागि कार्यक्रम लागू गर्न लागेको हो ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्म र सिफारिस भएका बालबालिकाको भविष्य सुरक्षाका लागि प्रत्येक महिना ५०० रुपैयाँका दरले ५ वर्षसम्म गाउँपालिकाले भत्ता वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । बालबालिकाको पालनपोषण तथा भविष्य सुरक्षाका लागि यो कार्यक्रमको थालनी गरिएको भट्टराईको भनाइ छ ।
‘बालबालिकाको भविष्य सुरक्षाका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘५ वर्षसम्म बैंकिङ प्रणालीमार्फत प्रोत्साहन रकम दिन्छौं । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’
बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यका लागि लगानी गर्न सके त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताए । बालबालिकालाई गर्भमा रहेदेखि उसको उज्ज्वल भविष्यको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
राज्यले ज्येष्ठ, एकल महिला, असक्त, असाहय नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिए पनि नवजात शिशुका लागि भने पौवादुङमा गाउँपालिकाले पहिलोपटक प्रोत्साहनको कार्यक्रम शुरू गरेको अध्यक्ष राईले बताए । ‘गरीबी तथा अर्थिक अभावका कारण अब आउने बालबालिका स्वास्थ्य र शिक्षाबाट वञ्चित नहोऊन् भन्ने हाम्रो मुख्य लक्ष्य छ,’ उनले भने, ‘गाउँपालिकाले प्रदान गर्ने रकमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्छ । ५ वर्षसम्म जम्मा भएको रकमलाई मुद्धति खातामा राखेर उनीहरूको उज्ज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’