एजेन्सी । सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ ।
बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् ।सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको राम्रो । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ।
सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ ।यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ ।
नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।
सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालामा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।
सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनको एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे, १२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।
सनस्क्रिन ‘फिजिकल’ र ‘केमिकल’ गरी दुई प्रकारको हुन्छ । धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ ।
खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन।
अर्को अहिले ‘कम्प्याक्ट फर्म’मा पनि सनस्क्रिनहरु आउन थालेका छन् जुन कम्प्याक्ट फाउन्डेसन जस्तो हुन्छ जसले कालोपोतोहरु लुकाउन सक्छ । सनस्क्रिन लगाएपछि मेकअप लगाउन मिल्छ भन्ने प्रश्न पनि धेरैले सोध्ने गरेका छन् । लगाउन मिल्छ तर केही समय मात्र छालाामा लगाउने र पखालिहाल्नुपर्छ ।
सनस्क्रिनको महत्व छ तर सबैले किन्न नसक्लान् र प्रयोग गर्न नसक्लान् । सकेसम्म छायाँमा रहेर काम गर्नुपर्छ । १० देखि ४ बजेको घाममा एकदमै विकिरण हुन्छ भनिन्छ । घामबाट बच्न ह्याट लगाउने, चस्मा लगाउने, कपडाले अनुहार तथा घाँटी छोप्न सकिन्छ। साथै छाता ओढेर हिँड्ने ,मास्क र टोपी लगाएर हिँड्न सकिन्छ ।