स्वस्थ बच्चाहरुको स्वास्थ्य परामर्श भन्नाले बच्चा जन्मेपछि स्तनपान सम्बन्धिको परामर्श,बच्चा राम्रोसँग विकास भएको छ या छैन, बच्चाको शारीरिक वा मानसिक अवस्था के छ, बच्चाले समय अनुसारको भ्याक्सिन पाइराखेको छ या छैन, पोषणयुक्त खाना पाएको छ, छैन भन्ने जस्ता पक्षहरु स्वास्थ्य परामर्शले समेट्ने गर्छ । बच्चा गर्भमा रहेदेखि एक हजार दिनसम्मको अवधिलाई पहिलो सुनौलो एक हजार दिन भन्ने गरिन्छ, जुन आमाको पेटबाट नै सुरुवात भइसकेको हुन्छ ।
बच्चाको करिब २५ प्रतिशत मानसिक तथा शारीरिक विकास आमाको पेटमा नै हुने गर्छ । बच्चा जन्मेर २ वर्ष पुग्दासम्म ८५ प्रतिशत मानसिक विकास भइसकेको हुन्छ । त्यसैले बच्चा जन्मेर २ वर्ष नपुग्दासम्म उसलाई के कस्तो स्याहार गरी हुर्काउन आवश्यक छ भन्ने जान्नका लागि बच्चाहरुमा स्वास्थ्य परामर्श आवश्यक छ । यसै अवस्थामा बच्चाको ८५ प्रतिशत विकास भइसक्ने भएकोले यो समयमा बच्चाको स्याहार गर्नका लागि पनि उचित स्वास्थ्य परामर्श आवश्यक पर्ने गर्छ ।
आमाको दुधमा बच्चाको विकासका लागि आवश्यक सम्पूर्ण तत्वहरु हुने भएकोले बच्चालाई जन्मेको ६ महिनासम्म पूर्ण र २ वर्षसम्म स्तनपान गराउन सकिन्छ ।बच्चालाई प्रत्येक २ घन्टाको अन्तरालमा स्तनपान गराउनुपर्ने हुन्छ । कुनै बच्चाले छोटो समयमा नै पेट भर्ने गरी दुध खाने गर्छन् भने कुनैलाई निक्कै समय लाग्ने गर्छ । स्तनपानबाट बच्चाको पेट भरिएको छ या छैन आमाले बुझ्नुपर्ने हुन्छ ।
बच्चाहरु रातीमा रुने तथा छट्पट्याउने किन गर्छन् ?
यदि बच्चाहरु राती राती रुने तथा छट्पट्याउने गर्छन् भने त्यो कोलिक पेन हो भन्ने बुझ्नुपर्छ । यसका लागि आतिनु आवश्यक छैन ।३ –४ महिनासम्म बच्चालाई कोलिक पेन हुनु सामान्य मानिन्छ । यस्तो अवस्थामा बच्चालाई उठाउने,पेटमा हल्का समाउने, जस्ता काम गनुृपर्ने हुन्छ । यसपछि पनि बच्चाले आराम महसुस गरेन भने बाल रोग विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । जभाबाभी रुपमा फार्मेसीबाट लिइएको औषधी बच्चालाई खुवाएमा त्यसले समस्या ल्याउन सक्छ ।
बच्चालाई ६ महिना अगाडि नै गाईको दूध खुवाउनु हुन्छ या हुँदैंन ?
सकेसम्म बच्चालाई जन्मेको ६ महिनासम्म पूर्णरुपमा आमाको दूध नै खुवाउनुपर्ने हुन्छ । ६ महिनामा नै बच्चाको प्रतिरक्षा क्षमता बनिसकेको हुँदैंन यदि आमाको दूधले बच्चालाई नपुगेको अवस्थामा गाई भैसीको दूधको विकल्पमा अन्य दूधको प्रयोग गर्नु उत्तम मानिन्छ ।
६ महिनापछि बच्चाको स्याहार कसरी गर्ने ?
बच्चा जन्मेर ६ महिना पुरा भइसकेपछि कम्प्लीमेंटरी फुड दिन सुरु गर्नुपर्ने हुन्छ । आमाको दूधमा ४ सय क्यालोरी मात्रै पाइने भएकोले ६ महिना पुरा भइसकेपछि बच्चालाई आवश्यक क्यालोरी आमाको दूधबाट मात्रै पुग्दैंन । बच्चा जन्मेको ६ महिना पुरा भइसकेपछि ६ सय क्यालोरीको आवश्यक पर्ने भएकोले ६ महिना पुरा भएका बच्चाहरुलाई आमाको दूधको अतिरिक्त अन्य खानेकुराको पनि आवश्यकता पर्ने गर्छ । यदि आवश्यक मात्रामा क्यालोरी दिन नसकेको अवस्थामा पछि गएर बच्चा कुपोषित हुनसक्छन् । त्यसैले समयमा नै कम्प्लीमेंटरी फुड दिनु आवश्यक हुन्छ ।
सुरुवातमा आमाको दूधको अतिरिक्त लिटो, दालको झोल, फलफूलको रस लगायतका खानेकुरा खुवाएर सुरुवात गर्न सकिन्छ । तपाईले खुवाएको खानेकुराले बच्चाको शरीरले पचाएको या नपचाएको विचार गर्नुपर्ने हुन्छ ।
६ महिनामा नै बच्चाको पाचन प्रक्रिया बलियो भई नसक्ने भएकोले प्रोटिनयुक्त खानेकुरा नखुवाएको राम्रो हुन्छ । अन्डा , माछामासु लगायतका खानेकुरा बच्चा १ वर्ष पुगेपछि मात्रै खुवाउन सुरु गरेको राम्रो हुन्छ ।
त्यस्तै बच्चालाई १ वर्ष पुगेपछि मात्रै गाईको दूध दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बच्चा ६ महिना नपुगेसम्म कम्प्लीमेंटरी फुड दिन सुरु गर्नु हुँदैंन । ६ महिना अगाडि यस्ता खानेकुराको सुरुवात गर्दाे बच्चाको पाचन प्रक्रिया बलियो नभइसकेको हुनाले थुप्रै जटिलता समेत आउने गर्छन् ।