काठमाडौं । छालाले शरीरलाई बाह्य प्रतिकूल वातावरणबाट जोगाउँछ । छालामुनि रहेका विभिन्न खाले स्नायुका कारण तातो, चिसो, खस्रो, मसिनो, मुलायम जस्ता स्पर्श अनुभूति हुन्छ ।
यसले प्रतिकूल वातावरणबाट पहिल्यै सावधानी अपनाउन मद्दत मिल्छ । गर्मी मौसममा बढी संवेदनशील हुने छालामा घामको असरका साथै विभिन्न खालका एलर्जी पनि आउँछन् ।
– बर्खायाममा छाला चिल्लो र ग्रिजी हुने भएकाले हल्का खालको क्लिन्जरले दिनमा २ देखि ३ पटक अनुहार पखाल्नुपर्छ ।
– यो सिजनमा प्रायः मोइस्चराइजर नलगाउने बानी हुन्छ । तर, वातावरणीय प्रभावबाट छालालाई जोगाउन बर्खायाममा कम चिल्लो हुने ‘वाटर वेस्ड मोइस्चराइजर’ प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम र मुलायम राख्न मद्दत गर्छ ।
– बर्खायाममा पानी धेरै पिउनुपर्छ । अत्याधिक मात्रामा पसिना बग्ने भएकाले शरीरमा पानीको मात्रा कम भइ डिहाइड्रेटेड हुन पुग्छ । यसले छाला फुस्रो र सुख्खा हुन्छ । त्यसैले शरीरलाई हाइड्रेट राख्नुपर्छ ।
– बर्खामा छालालाई स्वस्थ राख्न मुलतानी माटो प्रयोग गर्न सकिन्छ । वर्षौ पहिलेबाट छालामा मुलतानी माटो प्रयोग हुँदै आएको छ । यसले छालाबाट विकार निकाल्नुका साथै यसमा ब्याक्टेरिया तथा जीवाणुलाई मार्ने गुण हुने भएकाले यसको प्रयोग उपयुक्त हुन्छ । मुलतानी माटोलाई पानीमा हालेर लेप बनाइ अनुहारमा लगाएर सुक्न दिने । १५ मिनेटपछि चिसो पानीले पखाल्ने । यस्तो लेपले छालाबाट अनावश्यक तेल र चिपचिप कम गर्छ । अनुहारमा आउने मसिनो रातो फोकाहरु कम हुन्छ । मुलतानी माटोको लेप हप्तामा एकपटक प्रयोग गर्न सकिन्छ ।
– चामलको मसिनो पिठोमा दुध मिसाई स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालामा भएको मृत कोषिकालाई हटाई नयाँ सेल निर्माणमा मद्दत गर्छ ।
– बर्खायाममा धेरैको अनुहारमा मसिनो रातो र ठूला–ठूला डण्डिफोर आउने समस्या हुन्छ । यस्तो समस्या हुँदा नीमको धुलो प्याकमा गुलाबजल मिसाइ लेप बनाएर अनुहारमा लगाउनुपर्छ । निममा जीवाणु तथा ब्याक्टेरिया मार्ने गुण हुने भएकाले डण्डीफोर निको भइ संक्रमण हुनबाट बचाउँछ । बर्खायाममा छालामा रोमछिद्र बढेर विभिन्न समस्याहरु आउँछ । यस्ता समस्याहरुबाट छालालाई बचाउँन ग्रीन–टी प्रयोग गर्न सकिन्छ ।
ग्रीन-टीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिसेप्टिक र एन्टी इन्फलामेटेरी प्रोपटीज हुने भएकाले यसको प्रयोगले छालालाई ताजा र स्वस्थ बनाउँछ । ग्रीन–टीलाई सफा पानीमा भिजाइ उक्त पानीमा कपास चोबेर अनुहारमा लगाउनुपर्छ । उक्त पानीले छालालाई प्राकृतिक टोनर प्रदान गर्छ र रोम छिद्रहरु बन्द हुन्छन् ।
– बर्खायामको घामले छाला डढेको हुन्छ । डढेको छालाको उपचारका लागि पाकेको गोलभेडा उपयुक्त हुन्छ । गोलभेडामा भिटामिन–ए, भिटामिन–सी र पोटासियम हुन्छ । यसले डढेको छाला निको हुनका साथै रोमछिद्र बन्द गर्न मद्दत गर्छ । साथै, छालामा हुने ब्ल्याक हेड र ह्वाइट हेड हटाउँछ ।