काठमाडौं । मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ।
स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह, मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको शिकार हुनुपर्ने अवस्था समेत रहेको जनाइएको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अंगदानसम्बन्धी कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए।
उनले मिर्गौला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गौला प्रत्यारोपी पाउन सक्ने अवस्था नहुँदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अंगदानको सामाजिक अभियान थालेको जानकारी दिए । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले खेर जान लागेको अंगलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गौला रोगीको ज्यान बचाउन सकिने जानकारी दिए।
‘आफू मरे पनि आफ्नो अंग अरूको शरीरमा बाँचिरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ,’ उनले भने, ‘यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ।’
उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अंगहरू खरानी भएर वा माटोमुनि गइरहेको उनको भनाइ छ । कार्यक्रममा एक जनाको मस्तिष्क मृत्युपश्चात ८ वटा अंग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए ।
केन्द्रका निर्देशक डा. श्रेष्ठले नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा ८ हजार अंग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए । ‘नेपालमा निकै कम मात्र मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपणमा उपयोग भएको छ,’ उनले भने, ‘एउटा मस्तिष्क मृत्यु भएकोबाट ८ जनाले जीवनदान पाउन सक्छन् ।’