काठमाडौं । झापा मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गरेका थिए ।
मेची नेत्रालय काँकरभिट्टाले उनीहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । संस्थाका सल्लाहकार स्वाथ्यकर्मी हेमन्तराज दवाडीले इच्छापत्रमा हस्ताक्षर गरेकाहरुको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिकेर लैजाने । उनले भने , “आँखादान सबभन्दा महत्त्वपूर्ण दान हो । त्यही भएर मैले इच्छापत्रमा हस्ताक्षर गरेको हुँ ।” जिल्लामा सन् २०१८ बाट आँखाको नानी दान गर्ने अभियान सुरु भएको थियो ।
विर्तामोडका ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेपछि अभियानको सुरुआत गरेका थिए । उनले मेची आँखा अस्पताल विर्तामोडको ‘कर्निया कलेक्सन सेन्टर’ मार्फत आँखा दानका लागि इच्छापत्रमा हस्ताक्षर गर्ने हालसम्म पाँच सय जना बढी रहेका छन् ।
अस्पतालका नेत्र सहायक पुष्प अधिकारीले जिल्लामै अझै पनि चेतनाको अभावमा आँखा दान गर्नेहरुको संख्यामा बृद्धि हुन नसकेको बताए । उनले जिल्लाभरका स्वास्थ्यकर्मी, हेल्थपोस्टका प्रमुख, रोटरी क्लबलगायत विभिन्न सङ्घसंस्थामार्फत आँखा दानका लागि जनमानसमा सचेतना जोगाउने कार्यक्रम भइरहेको जानकारी दिए । “मृत्यु भएपछि नाश हुने आँखाले कसैले नयाँ जीवन पाउँछ भन्ने सोच मान्छेमा कम छ”, उनले भने , “यसको उपयोगिताबारे सबै क्षेत्रबाट जनचेतना फैलाउनुपर्छ ।”
उनले विसंं २०७४ मा स्थापना गरेको सेन्टरमा जन्मोत्सवको अवसर पारेर पनि आँखाको नानी दान गर्ने पछिल्लो समय अस्पतालमै आउन थालेको बताए । उनले चालु आवमा मेची आँखा अस्पतालमा मात्र ७२ जनामा आँखाको नानी प्रत्यारोपण गरेको बताए। जिल्लामा हालसम्म स्वयं मृतक आफैँले हस्ताक्षर गरेको इच्छापत्र र परिवारका सदस्यले फाराम भरेको स्वीकृत पत्रको आधारमा छ जनाको मृत्युपछि आँखा निकालिएको नेत्रसहायक अधिकारीले जानकारी दिए । उनले हालसम्म नेपाल आँखा बैंकबाट नै कर्निया मगाएर अस्पतालले प्रत्यारोपण गर्दै आएको बताए।
उनले मृत शरीरबाट निकालिएको आँखालाई पुन जाँच गर्नुपर्ने भएका कारण नेपाल आँखा अस्पतालमै पठाउने गरेको बताए । जिल्लामा मेची नेत्रालय र मेची आँखा अस्पतालमा कर्निया कलेक्सन सेन्टर रहेका छन् ।