बर्दिया- बर्दियाको बारबर्दिया नगरपालिका ९ का दीपक वलीको घरमा एकपछि अर्को गर्दै सबैलाई ज्वरो आउन थाल्यो। १५ दिन पहिले बुबाबाट सुरु भएको ज्वरो, शरीर पोल्ने, टाउको दुख्ने जस्ता लक्षण आमा, हजुरआमा, बहिनी हुँदै दिपकलाई पनि देखियो।
घरका पाँचै जना बिरामी भए। देशमा कोरोनाले भयावहरुप लिँदैछ भन्ने उनीहरुलाई थाहा थियो । बिस्तारै बुबा, बहिनी, हजुरआमा र दीपकलाई ज्वरो कम हुँदै गयो। तर ४१ वर्षीया जैसरा वली (दीपककी आमा) लाई भने दैनिक ज्वरो, शरीर दुख्ने र टाउँको दुख्ने समस्या झन्झन् बढ्दै गयो।
यस्तै लक्षण देखिएका अरुलाई ठिक भइसकेकाले जैसरालाई पनि ठिक होला भनेर तत्काल अस्पताल लगेनन्।
ज्वरो नरोकिएपछि घरमै औषधी खुवाउन थाले। तर जैसराको स्वास्थ्यमा सुधार देखिएन।
‘त्यसपछि आमालाई लिएर दिपक नजिकैको रोजीना मेडिकल गएँ, मेडिकलले चेकजाँच गरेपछि आमालाई टाइफाइड भएको बतायो’, दीपक भन्छन्, ‘मेडिकलले त्यसै अनुसारको औषधि चलायो। आमा र म औषधि लिएर घर फर्कियौं।’
नभन्दै औषधि खान थालेपछि जैसरालाई ज्वरो कम हुदै गयो । उनीहरुमा खुशीको सञ्चार बढ्दै थियो। तर तीन दिनपछि जैसरालाई पुनः ज्वरो सुरु भयो। चौथोदिन फेरि त्यहि मेडिकल पु¥याए।
‘मेडिकलले टाइफाइड बढिसकेको छ, औषधिले काम गरेन । अब सुई लगाउनु पर्छ भने,’ दीपक भन्छन्, ‘मेडिकलवालाले १० वटा सुई लगाउँन सुझाब दिएका थिए तर हामीले पहिला पाँच वटा लगाउँने सहमती जनायौं । दैनिक एउटाका दरले ५ दिन निरन्तर सुई लगाइदिए।’
त्यसले ज्वरो त रोक्यो तर जैसराले झन्झन् गाह्रो भएको बताउन थालिन्। जैसराको स्वासप्रस्वासमा नै समस्या देखिन थाल्यो । त्यसपछि भने मेडिकलले अब यहाँ नहुने बताउँदै अन्तै लैजान र कोरोना पनि परीक्षण गर्न सुझाव दियो।
टाइफाइड भन्दै १०/१२ दिन घरमै राख्दा जैसराको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। जैसरा आफैं हिडेर शैचालयसम्म पनि जान नसक्ने अवस्थामा पुगेकी थिइन्।
त्यसपछि जयनगरमा रहेको कोभिड अस्थाई अस्पतालमा लगे। त्यहाँ अक्सिजन चेकगर्दा ७० मा झरिसकेको रहेछ।
साँझ अस्पताल पुगेका कारण उनको कोरोना परीक्षण हुन सकेन। अस्पतालमा बेड पनि खालि थिएनन्। कोरोनासँग मिल्ने लक्षण भएपनि पुष्टि नभइकन उनलाई कोभिड वार्डमा भर्ना गरिएन। त्यो रात ननकोभिड वार्डमा राखियो ।
भोलिपल्ट (चैत्र २८) एन्टिजेनबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। डाक्टरले स्वास्थ्य अवस्था गम्भिर रहेकाले तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर वा भेरी अस्पताल लैजान सल्लाह दिए। जैसराको शरीरमा भने अक्सिजको मात्रा ५०–६० सम्म आइसकेको थियो।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र भेरी अस्पताल दुवैमा बेड छैन भन्ने खबर आयो। यता डाक्टरले भने बिरामीलाई बचाउने हो भने जतिसक्दो छिटो बेडको व्यवस्था गर्न भनिरहेका थिए।
जैसरालाई त्यहीँ अक्सिजन दिइरहेको थियो। डाक्टरहरु भनिरहेका थिए, ‘हामीसँग पनि अब अक्सिजन छैन, अप्ठेरो पर्न सक्छ छिटो अन्तै व्यवस्था गर्नुस्।’
दीपकले बेड मिलाउँन सक्ने सबै आफन्तलाई फोन गरे कतै पनि बेडको व्यवस्था भने हुन सकेन २ दिन सम्म जैसरालाई त्यहि अस्पतालमा नै राखियो । २ दिन पछि भने उनका मामा गणेशले तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लिएर आउन र त्यहाँ बेड मिलाउने बताए।
अस्पतालमा चिनेका मान्छे पनि भएकाले केही उपाय लाग्ला भन्ने आशासहित जैसरालाई एम्बुलेन्समा राखेर कोहलपुरतर्फ लगे।
तर लैजाँदै गर्दा बाटैमा अक्सिजनमा जडान गरिएको फ्लो मीटर फुट्यो। त्यसपछि जैसरालाई झनै गाह्रो भयो।
‘आमा छटपटाउन थाल्नुभयो, तर हामीसँग कुनै विकल्प थिएन । एम्बुलेन्स छिटो कुदाउन भन्यौं, चालकले थप गति बढाए’, दीपकले भने।
अस्पताल कोरोना संक्रमितहरुले भरिभराउ थियो। अस्पतालमा बेडहरु पनि खालि थिएनन्।
‘तर पीडामा छटपटाइरहेकी आमालाई जसरी पनि बचाउनु थियो, डाक्टरले आमाको अवस्था नाजुक रहेको भनिसकेका थिए’, दीपकले सुनाए, ‘बेड खालि नभएपछि डाक्टरले बाहिरै चेकजाँच गर्दै तत्कालै अक्सिजन दिन सकिएन भने जैसरालाई बचाउँन नसकिने जस्ता कुरा सुनेर दिपक धेरै आतिए ।
बेडको खोजि गर्दा कतैपनि खालि नभएपछि दुई जना बिरामीकोबिचमा रहेको खालि ठाउँमा स्टेचरमै राखेर जैसराको उपचार सुरु भयो। तत्काल उनलाई अक्सिजन दिन थालियो।
अहिले जैसराको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। अहिले जैसरालाई हाइफ्लो अक्सिजनमा राखिएको छ। अक्सिजनमा राख्दा उनको मात्र ९७/९८ सम्म पुग्छ, निकाल्यो भने क्रमश घट्दै ५०/४० सम्म झर्छ।
तर दीपकलाई भने अझै पनि ती दिनले झस्काइरहन्छ। मेडिकलको औषधी र सुइले गर्दा झण्डै आमा गुमाउनु परेको उनी बताउँछन्। आमालाई अस्पताल लगिसकेपछि त्यहाँ कोरोना संक्रमितको शव १५/१५ मिनेटको फरकमा निकालेको देख्दा उनले हार मानिसकेका थिए। तर आज जैसरालाको स्वास्थ्यमा केहि सुधार आए पछि उनिमा आशा जागेको छ ।
‘अक्सिजन लेभल मात्रै जाँच गरिदिएको भएपनि आमालाई यति गाह्रो हुन्थेन, समयमै अस्पताल लैजान्थ्यौं, ढिलै भएपनि स्वास्थ्य अवस्थामा सुधार भयो, अब खुशी छु’, दीपकले भने।
ज्वरो आउनासाथ कोरोना परीक्षण नगरेर गल्ती गरिएछ भन्ने उनलाई पछुतो लागिरहेको छ। त्यसो त उनले परिवारमा कसरी कोरोना फैलियो भन्ने प्रश्नको उत्तर पनि अझै भेट्टाउन सकेका छैनन्।
कोरोना संक्रमण भएपनि दीपक हजुरआमासँग घरमै छन्। हजुरआमालाई पनि कोरोना संक्रमण भएको छ। तर बुबा र बहिनीलाई भने कोरोना संक्रमण देखिएन। पहिले ज्वरो देखिएका उनीहरुलाई अहिले ठिक छ। बुबा–आमाको कुरुवा बसेका छन् अस्पतालमा। बहिनी घरमा हेरचाहमा छिन्।
उनीअहिले हरेक मान्छेसँग कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जिज्ञासा राख्छन् र आफ्ना भोगाइ पनि सुनाउँछन्। उनको अहिले एउटै चिन्ता छ । अस्पतालमा भएकी आमा कहिले ठिक भएर फर्केलिन् ?
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १८:०२