काठमाडौं । सुर्खेतका महिला अधिकारकर्मीहरूले अस्थायी साधनको विकल्पका रूपमा गर्भपतनलाई लिइने हुँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पारेको बताएका छन् ।
लिंग पहिचान गरी पटकपटक गर्भपतन गरेका कारण महिलालाई स्वास्थ्यमा असर परेको उनीहरूले बताएका छन् । सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वामले आयोजना गरेको सुरक्षित गर्भपतन सेवा विषयक कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका चन्द्राकुमारी सोनीले छोराको आशामा धेरै गर्भपतन हुने भएको बताइन् । ‘छोराको आसमा धेरै छोरी जन्मिएका कारण महिला गर्भमा छोरा नहुँदासम्म गर्भपतन गरिरहने गर्दछन्,’ उनले भनिन्, ‘छोराको आसमा एक जना महिलाले ६ देखि सात पटकसम्म पनि गर्भ फाल्ने गर्दछन् ।’ यसरी पटकपटक गर्भपतन गराउँदा महिलाको ज्यान समेत जाने गरेको उनको भनाइ छ ।
महिला मात्र होइन कतिपय किशोरीहरूले पनि यो सेवा लिने गरेका छन् । मनाेपरामर्श सेवा प्रदान गर्दै आएकी सर्मिला विसीले किशोरीहरू विभिन्न कारणमा परेर गर्भपतन गर्ने गरेका छन् । ‘स्कुल तथा क्याम्पसमा पढ्ने नानीहरू गर्भवती हुने र गर्भपतन सम्बन्धी जानकारी नहुँदा ज्यान जानेसम्मको घटना हुने गरेका छन्,’ विसी भन्छिन्, ‘यस्ता समस्या लिएर धेरै बालिकाहरू मसँग परामर्श लिन आउने गरेका छन् ।’
किशोरीहरूमा यस्ता समस्याले डिप्रेसनको समस्या समेत हुने गरेको उनले बताइन् ।
महिला अधिकारकर्मी जरमाया बाँठाले सुरक्षित गर्भपतन सेवा महिलाको अधिकार भएकाले असुरक्षित गर्भपतनलाई रोक्नुपर्ने बताइन् । बियोण्ड बेइजिङ कमिटीको आर्थिक सहयोगमा वाम संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका चार वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा विद्यालयका किशोरीहरूलाई गर्भपतन सेवाको विषयमा जानकारी दिने गरिएको वाम संस्थाका मधुरानी ढकालले बताइन् । किशोरीहरूलाई नै यस विषयमा जनचेतना जगाएमा असुरक्षित गर्भपतन रोक्न सकिने भएका कारण किशोरीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
कमिटीका परियोजना संयोजक सुस्मा श्रेष्ठले गर्भपतन सेवा अधिकार भएकाले यसको सुरक्षित प्रयोगमा जोड दिनुपर्ने बताइन् । कमिटीका परियोजना अधिकृत रेयुसा चालिसेले किशोरीहरूलाई जनचेतना गराउन विद्यालय लक्षित कार्यक्रम सञ्चालन गरिएको बताइन् ।