महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन देखापर्छ । यो समय अधिकांश महिलाका लागि निकै पीडादायी हुने गर्छ । यो वेलाको थकान, कम्जोरीपन, पेट दुखाइ, मुड परिवर्तन आदि कारणले जतिसुकै स्वस्थ महिलाले पनि आलस्य महसुस गर्छन् । स्वास्थ्य अवस्था कमजोर भएका महिलाका लागि त महिनावारी निकै नै पीडादायी बन्ने गर्छ ।
धेरै महिलाहरूमा महिनावारी नियमित नहुने समस्या देखिने गरेको छ । कहिलेकाहीँ महिनावारी अनियमित हुँदा फरक पर्दैन तर धेरै पटक महिनावारी अनियमित हुँदा यसले धेरै असर गर्न सक्छ । नियमित रुपमा महिनावारी नहुँदा यसले प्रजनन क्षमतालाई असर गर्न सक्छ ।
चिकित्सकहरूका अनुसार महिनावारी २८ दिनको अन्तरमा हुनु पर्छ । कति महिलाहरुको महिनावारी १५ देखि २० दिन ढिलो हुन्छ, यसरी महिनावारी धेरै दिन ढिला भयो भने महिलाहरुमा धेरै समस्याहरु उत्पन्न हुन थाल्छ । शरीर दुख्ने, ढाड दुख्ने, कपाल झर्ने र छटपट हुने जस्ता समस्याहरु देखिन्छ ।
कतिपय रोग र समस्या पनि हामीले गरेकै गलत खानपिन र सही जीवनशैली नअपनाउँदा नै हुने गर्छ । महिनावारीमा गडबडी आएको थाहा पाउने बित्तिकै खानपिनमा परिवर्तन , व्यायाम गर्ने , सही जीवनशैली अपनाउने गरेर पनि यसलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।
महिनावारीका वेला कस्तो व्यायाम गर्ने
सामान्यतः महिनावारी भएको पहिलो दिनदेखि तीन दिनसम्म कुनै पनि धपेडीपूर्ण काम र व्यायाम गर्नु हुँदैन। यदि महिनावारी सामान्य छ, दुखाई पनि सामान्य छ र व्यायाम गर्न सक्ने अवस्था छ भने हल्का व्यायाम आसन गर्न सकिन्छ तर उफ्रिने, कुद्ने वा भारी व्यायाम भने गर्नु हुँदैन। धेरै रगत बग्छ, चर्को दुखाई छ वा गाह्रो छ भने पनि व्यायाम गर्नु हुँदैन, आराममै रहनु पर्छ।
महिनावारी भएको तीन चार दिनपछि भने सबै व्यायाम गर्न सकिन्छ। तर महिनावारी गडबडी र दुखाइमा विशेष घोप्टो परेर तल्लो पेटमा असर पर्ने आसनहरुले लाभ गर्छ।
पुतली आसन
– भुइँमा दुबै खुट्टा सिधा राखेर दण्डासनमा बस्ने।
– अब दुबै खुट्टालाई खुम्च्याएर दुबै हातलाई दुबै पैतालामुनि लगेर लक गर्ने।
– स्वास छोड्दै दुबै थाइले दायाँबायाँ भुइँ छुवाउने प्रयास गर्ने र स्वास तान्दै माथि उठाउने। यसरी तलमाथि १० देखि २० पटक गर्ने। यसरी गर्दा मेरुदण्ड, गर्धन, शिर सिधा हुनुपर्छ।
– अब दुबै खुट्टालाई सिधा गर्ने र विस्तारै जति सकिन्छ त्यति दायाँबायाँ फैलाउने, विस्तारै स्वास छोड्दै दुबै हातले दुबै खुट्टाको पैताला समाउने र शिर निहुराएर भुइँ छुने प्रयास गर्ने।
– १० देखि २० गन्ने र विस्तारै स्वास तान्दै बीचमा फर्कने।
– टाउकोले भुइँ छुन नसके सिरानी राखेर बस्ने।
भुजंगासन
– घोप्टो परेरै सुत्ने।
– अब दुबै हातलाई काँधको दायाँबायाँ राख्ने।
– लामो स्वास तान्दै दुबै हात तन्काएर कम्मरभन्दा माथिको भागलाई उठाउने, टाउकोलाई पनि पछाडि लगेर माथि आकास हेर्ने। यस स्थितीमा सबै बल दुबै हात, कम्मर र नाभीमा पर्छ।
– १० गन्ने र स्वास छोड्दै तल फर्कने। ५ पटक गर्ने।
बुद्धकोणासन
- भुइमा बसेर खुट्टा क्रस नगरी, हातले खट्टा छुन नमिल्ने गरि त्रि कोण आसनमा बसने।
- खुट्टालाई हातले समाउनुहोस् र घुडालाई हल्लाउने ।
- यो योग केहि समय सम्म गर्नुहोस् ।
पवनमुक्तासन
- उत्तानो सुतेर दुबै खुट्टा सिधा राख्ने।
- अब स्वास छोड्दै दुबै खुट्टालाई घुँडासम्म खुम्च्याएर दुबै हात घँुडामा लगेर लक गर्ने, टाउको उठाएर सकेसम्म चिउँडोले घुँडा छुने प्रयास गर्ने, १० गन्ने र स्वास तान्दै बीचमा फर्कने। ३ देखि ५ पटक गर्ने।
पूर्ण सलभासन
अब दुबै खुट्टा अघिजस्तै स्वास तान्दै कम्मरबाट सिधा तनक्क तन्काएर भुइँबाट १ फिट उठाउने, १० गन्ने र स्वास छोड्दै तल राख्ने। ५ पटक गर्ने।
पश्चिमोउत्तानासन
- जानुसिरासन पछि दुबै खुट्टा सिधा राख्ने।
- अब दुबै हातलाई अघि जस्तै स्वास तान्दै टाउको माथि सिधा लैजाने र स्वास छोड्दै निहुरिएर हातले दुबै पैताला समाउने, निधारले घुँडा छुने। यस अवस्थामा पनि निधारले घुँडा नछोएमा सिरानी राखेर बस्ने।
- यस स्थितिमा रहेर १० गन्ने र स्वास तान्दै बीचमा फर्कने ५ पटक गर्ने।
उष्ट्रासन
- घुँडा टेक्ने र खुट्टालाई अलग राख्नने ।
- खुट्टा समातेर विस्तारै पछाडितिर झुक्नु र घुँडा र काँध सिधा रेखामा राख्नने ।
- गहिरो श्वास लिँदै आफ्नो सन्तुलनको लागि आफ्नो हातले खुट्टा समातेर आफ्नो ढाडलाई घुमाउने र केहि समय यहि स्थितिमा रहने ।
- अब सिधा स्थितिमा आउने र ढाड र हातलाई आराम दिने।
महिनावारीमा पनि योग व्यायाम गर्दा आफ्नो शरीरको अवस्था हेरेर मात्र गर्नुपर्छ । धेरै रगत बग्छ, चर्को दुखाई छ वा गाह्रो छ भने पनि व्यायाम गर्नु हुँदैन, आराममै रहनु पर्छ। महिनावारीमा योग व्यायाम, पोषिलो खानेकुरा खुवाउनुका साथै सरसफाइमा पनि ध्यान दिनु पर्छ ।