हर्षा, पायल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताहरुमा स्थित रक्तनलीहरु विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् ।
योग, आयुर्वेद, युनानी र परम्परागत चाईनीज चिकित्सा (टी.सी.एम.) जस्ता हजारौ साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरू देखि बाइबल जस्तो धार्मीक ग्रन्थहरूमा समेत यो रोगलाई अत्यन्त कष्टकर रोगको रूपमा सूचीकृत गरिएको छ । मानवतालाई प्राचिन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसंख्याको ७० प्रतिशत हिस्सा जीवनको कुनै न कुनै कालखण्डमा संक्रमित हुने गरेका छन् ।
संक्रमित भएकाहरू मध्ये १० प्रतिशत रोग ठिक नभएर दीर्घरोगी भएका छन् भने ९० प्रतिशत रोगी सरसफाई, खानपान र औषधिय प्रबन्धले ठिक भएका छन् । ठिक नहुनुको मुख्य कारणहरु मध्ये, बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु र हेर बिचारमा कमि आदि पर्दछन् । संक्रमित हुनेहरूमा सबै उमेर समूहका व्यक्तिहरू छन् ।
यो रोग हुँदा मलासय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरीका तन्तुहरू सहित तलतिर खस्ने गर्दछ । तल खसेका नशा र तन्तुहरू गुज्मिुजिएर अंगुरको झुप्पाझै मासु पलाए जस्तो देखिने र सुन्निएका नशाहरू फुटेर रक्तश्राव हुने गर्दछ ।
पायल्सका प्रकार :
आन्तरिक पायल्स: आन्तरिक पायल्सलाई रक्तश्रावी पाइल्स पनि भनिन्छ । रक्तश्रावी पायल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासी रक्तश्राव हुन्छ । रक्तश्राव पनि सामान्य, मध्यम र तिव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तश्राव हुँदा रगत दिसासँग लागेर मात्र आँउछ, मध्यम रक्तश्राव हुने रगतका थोपा, थोपा टप्कीने गरी रक्तश्राव हुने भने तिव्र रक्तश्रावमा रगत छिर्का हालेर बाहिर आँउछ ।
बाह्य पायल्स: बाह्य पायल्स हुँदा रोगीलाई अत्याधिक पीडा हुन्छ तर रक्तश्राव भने धेरै हुँदैन । दिसा कडा भए रक्तश्राव पनि हुन सक्छ । यो पायल्स लामो समयसम्म निको नभए गुद्द्वाराको वरिपरी क्र्याक (फिसर) आउने घाँउ हुने र घाँउ बड्दै गएर घाँउको मुख अन्तै गएर खुल्ने (फिस्टुला) घाँउ पाक्ने पिप बग्ने र घाँउको नयाँ मुखबाट दिसा निस्कने र अन्तत्वगत्वा गुद्द्वारा खस्ने गुद्धद्वारा तथा मलाशयको क्यान्सर सम्म हुन सक्छ ।
यस्ता देखिन्छन् लक्षणहरू:
यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलखस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाह्य पायल्स भएको भए अत्यन्त पीडा हुने दिसा अड्केको आभाष हुने उड्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने । मासि पर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।
कारणहरू:
यो रोगको मुख्य कारण भनेको पेटमा दवाब पर्ने कुनै पनि काम जसले इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस (गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ । यसरी पेटलाई दवाव पर्दा यी नसाहरूमा चाप बड्न गई फैलीन पुग्छन् । नसाहरू फैलदा यिनमा रगत बढ्नगई आपसमा गुजमुजिएर गिर्खा–गिर्खी बन्न पुग्छन् । यी गिर्खाहरू विस्तारै आफ्नो ठाउँ छोडेर अन्य तन्तुहरू सहित तल तिर खस्न थाल्छन् ।
यसरी गुदद्वार तथा मलाशयका नशामा दवाव बढाएर पायल्सको समस्या गराउने अधिकांश कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । लामो समय सम्म कब्जीयतको समस्या हुनुमा व्यक्तिगत जीवन शैली आहार, बिहार र दिन चर्या जिम्मेवार छ । विशेषतः कब्जकारक जीवनशैली, जस्तै गरिष्ठ भोजन, नुन, खुर्सानी, मसला ज्याँदा प्रयोग गरेको, तारे–भुटेको अमिलो–पिरो ज्यादा हालेको माछा–मासु अण्डाको अत्यधिक सेवन, दूध तथा मैदाका मिठाई परिकारहरू, चाउचाउ बिष्कुट, पाउरोटी जस्ता जंकफुट, चिप्स, कुरकुरे, पाउ, गुदपाक जस्ता संरक्षित खाद्यान्न, बोटल तथा बट्टावद्ध खानेकुराहरू लामो समय सम्म राखेका खानेकुराहरू मैदा, वेसनका परिकार जस्ता खाने कुराहरू खानाले हुने गर्दछ ।
यसै गरी समयमा खाना नखाने, भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ता भन्दा ज्याँदा खाने, भोक भन्दा ज्यादा खानेहरूमा पनि पहिले कब्जीयत र त्यसपछि पायल्सको समस्या देखिएको छ । यसै गरी दिसा लागेको बेलामा दिसा नगर्ने दिसाको वेगलाई रोक्ने, कब्ज भएको बेला जबरजस्ती बलपूर्वक मल त्याग्न खोज्ने आदी बानीले पनि पायल्सलाई जन्माउछ ।
यसका अलावा गहुङ्गो भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा पनि पायल्स हुन सक्छ ।
रोकथाम तथा उपचारः
कब्जियत गराउने खानेकुरा जस्तै दहि, केरा, अनार, सुपारी नखाने, तातो तथा गर्मी गराउने खानेकुरा, चिया, कफि, अदुवा, मरिच, टिमुर, आदि तथा एलर्जी गराउने खानेकुरा भेन्टा, मास आदि र पचाउन र्गाहो हुने खानेकुरा जस्तै माछा, मासु, मैदाको परिकार, चिल्लो, पिरो, अमिलो, मसला, आदि कम खाने गर्नुपर्छ ।