काठमाडौं । डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ।
काभ्रेपलाञ्चोक डेंगुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताए। लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेंगुको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला)को काम भइरहेको बताउनुभयो। स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी काम भइरहेको छ। जिल्ला द्रुत प्रतिकार्य टोली गठन गरिएको छ।
लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, स्वास्थ्य कार्यालयले प्राविधिक र उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, स्थानीय तहका स्वास्थ्य शाखा, विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई डेंगुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ।
यस्तै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेका चेतनामूलक सामग्रीलाई सबै स्थानीय तहमा विभिन्न माध्यमबाट उपलब्ध गराइएको उनले बताए। काभ्रेपलाञ्चोकमा गत चैतमा डेंगुको सङ्क्रमण देखिएको थियो। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म छ सय ८० जनामा डेंगु देखिएको छ। सबैभन्दा बढी बनेपा नगरपालिकामा चार सय ८७ डेंगु सङ्क्रमित रहेका छन्।