काठमाडौं । सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र तरकारीको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक भएको पोषणविद् बताउँछन्।
कीटनाशक औषधिको कुप्रभावबाट जोखिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने सबै फलफूल र सागसब्जीको बोक्रा छोडाएर खाने गर्छन् । तर यसरी बोक्रा छोडाएर खाँदा कतिपय अवस्थामा हामी त्यसको सबैभन्दा पोषक तत्व फ्याँकिरहेका हुन्छौं।
बोक्रामा पाइने पोषक तत्वको मात्रा कुन खालको फलफूल वा सागसब्जी हो त्यसमा भर पर्छ । सामान्य रूपमा भन्दा बोक्रा नछोडाएका फलफूल र सागसब्जीमा बढी मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू हुन्छ ।
बोक्रैसहित खान नसकिने फलफूल र सागसब्जी
एभोकाडो, सुन्तला परिवारका फलफूल (कागती, सुन्तला, भोगटेलगायत), गर्मीमा हुने फलफूल (केरा, लिची, भुइँकटहर, मेवा, आँपलगायत), लसुन, खरबुजा÷तरबुजा, प्याज, फर्सी आदि।
बोक्रासहित खान सकिने फलफूल र सागसब्जी
स्याउ, आरु, कुरिलो, बेरी प्रजातिका फलफूल, गाजर, मूला, चेरी प्रजातिका फलफूल, काँक्रो, भन्टा, अंगुर, किवी, च्याउ, चुकन्दर, नास्पाति, हरियो केराउ, खोर्सानी÷भिँडे खोर्सानी, बयर, आलु इत्यादि।
फलफूल र सागसब्जीका बोक्रामा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व अत्यधिक मात्रामा पाइने हुँदा गुदीभन्दा बढी पोषणयुक्त हुन्छन् ।
तर केही फलफूल र सागसब्जीका बोक्रा यति कडा र बेस्वादिला हुन्छन् कि तिनलाई सजिलै सफा गर्न, खान र पचाउन सकिँदैन वा भनौं खानयोग्य हुँदैनन् । त्यसमाथि कतिपय फलफूल र सागसब्जीमा हालिएको कीटनाशक औषधि र कृत्रिम रंगका कारण पनि बोक्रैसँग खान सकिँदैन वा खानु हुँदैन ।
तैपनि घरमा फलेको वा आफूले उब्जाएको फलफूल र सागसब्जी बोक्रैसँग खान सकिने खालका भए बोक्रा नछोडाइ खानु स्वस्थकर हुन्छ ।