काठमाडौंं । धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड संचालनमा ल्याएको छ । सवैभन्दा धेरै डेंगु संक्रमित भएको सुनसरीको धरानमा संक्रमितहरूको उपचारका लागि ३० बेडको वार्ड सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।
धरानसहित सुनसरी जिल्लाका धेरै स्थान र छिमेकी जिल्लाहरूमा पनि संक्रमण बढ्दै गएका कारण रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार सेवा दिनका लागि धरान उपमहानगरपालिकासँगको सहकार्यमा वार्ड संचालनमा ल्याइएको प्रतिष्ठानका सह-प्रवक्ता डा.चुरामणि पोखरेलले जानकारी दिए ।
उनले प्रतिष्ठानको जीओपीडी भवन अगाडि असार २९ देखि सञ्चालन गरेको डेंगु क्लिनिकमा आइतबारसम्म ८१९ जनाको परिक्षण गर्दा ६१५ जनामा डेंगु संक्रमण पुष्टि भएको बताए । संक्रमणको यो संख्या परीक्षणको आधारमा ७५ प्रतिशत हो ।
प्रतिष्ठानमा डेंगु संक्रमित भई उपचारका लागि भर्ना हुने बिरामीहरूको संख्या बढ्न थालेकोले आइतबारदेखि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको जनाइएको छ ।
आकस्मिक कक्षमा आउने डेंगु संक्रमित बिरामीको चाप अत्याधिक भएकोले उपचार सेवालाई सहज बनाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवालाई समेत असर नपरोस् भन्ने उदेश्यले यसअघि कोभिड अस्पताल संचालन गरिएको वार्डमा डेंगु वार्ड स्थापना गरिएको सह–प्रवक्ता पोखरेलले बताए ।
उपचारका लागि आएका डेंगु संक्रमित विरामीहरूमध्ये सिकिस्त विरामीहरूलाई आईसीयू, इमर्जेन्सी र अन्य वार्डहरूमा पनि उपचारार्थ राखिने जनाइएको छ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने संक्रमितहरूलाई भने नयाँ वार्डमा राखेर उपचार गरिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।
विरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी बेड क्षमता विस्तार गरिने आइसीयू पनि संचालन गरिने जनाइएको छ ।