नेपालमा कोरोनाभाइरसको दोस्रो लहर फैलिने क्रम जारी नै छ।
तुलनात्मक रूपमा हेर्दा कोरोनाभाइरसको यस पटकको लहरको प्रभाव बढी पाइएको छ।
सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या पनि यस अघिको लहरका तुलनामा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
यस्तो अवस्थामा कोरोनाभाइरस सङ्क्रमणबारे तपाईँहरूले हाम्रो फेसबुक र ट्विटरमा राखेका केही जिज्ञासाहरूको उत्तर खोज्ने प्रयत्न गरेका छौँ।
तपाईँका जिज्ञासाको जवाफ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग लिएका छौँ।
त्यस्तै बीबीसी न्यूज नेपालीले यस अघि प्रकाशन गरेका जानकारीमूलक सामाग्रीहरूबाट पनि हामीले केही प्रश्नका उत्तर साभार गरेका छौँ।
कतिपय प्रश्नहरू दोहोरिएकाले हामीले त्यसलाई केही सम्पादन गरी विज्ञहरू समक्ष राखेका छौँ।
पढ्नुहोस् तपाईँका जिज्ञासामा विज्ञहरूको जवाफ:
सुदिप घिमिरे: सङ्क्रमणको शङ्का लागेमा कहाँ र कसलाई सम्पर्क गर्ने ? १२ दिन आइसोलेसनमा बसेपछि परीक्षण गर्नु पर्छ कि पर्दैन? सङ्क्रमित समस्या भयो भने कुन अस्पताल लैजाने ? कसलाई सम्पर्क राख्ने?
डा. गौतम: सबैभन्दा पहिला त कोरोनाभाइरसको आफूलाई शङ्का लागेको छ भने नजिकको अस्पतालमा गएर जँचाउने।
अहिले पीसीआर परीक्षण नै गर्नुपर्छ भन्ने छैन। त्यसकारण जिल्ला अस्पतालहरूमा एन्टिजन परीक्षण उपलब्ध छ जुन सहजै गर्न सकिन्छ।
त्यस्तै परीक्षण गर्दा पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि पछि पुनः परीक्षण गर्नुपर्दैन किनभने एक-डेढ महिनासम्म पनि नतिजा पोजेटिभ आउन सक्छ।
भाइरस नभएर भाइरसको 'डेड पार्टिकल'हरू परीक्षणले हेर्न सक्ने हुँदा परीक्षण गरिराख्न जरुरी छैन।
तेस्रो कुरा कोरोनाभाइरसको लक्षण देखिएको अवस्थामा अस्पतालमा आइसीयू, भेन्टिलेटर वा अक्सिजन सोध्ने होइन।
नजिकको अस्पतालको इमर्जेन्सीमा जानुपर्छ। त्यहाँ आवश्यकता अनुसार बिरामी हेरिन्छ। काठमाण्डूको कुरा गर्दा अहिले १३ वटा सरकारी अस्पतालमा कोभिड ओपिडी सञ्चालनमा छन्।
चिकित्सकहरूले विभिन्न कुराहरू हेर्नुहुन्छ। जरुरी परे अक्सिजन दिनुहुन्छ, नपरे यसरी बस्नूस्, यो औषधि खानूस् भनेर आइसोलेशनका लागि घर पठाइदिनुहुन्छ।
यदि कसैलाई गम्भीर नै लक्षण रहेछ भने अस्पताल भर्ना गर्ने पनि व्यवस्था मिलाइएको छ।
त्यस्तै हालसालै बीबीसीले कोभिडको लक्षण देखिएर अहिलेको अवस्थामा के गर्ने भनेर राखेको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले यस्तो सुझाव दिएका थिए:
परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने छ।
त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको छ।
आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ।
त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्य संस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ।
आशा तिम्सिना: मलाई ज्वरो आएको थियो र ठिक भयो। तर छाती दुखिरहेको छ। अब यो कोरोना हो कि हैन कसरी थाहा पाउने?
डा, पुनः ज्वरोसँगै खोकी लाग्ने, स्वाद र गन्ध थाहा नपाउने, श्वासप्रश्वास समस्या आउने यी नै अहिले पनि कोरोनाभाइरसका मुख्य लक्षण हुन्।
र यदि केही गरी तपाईँले आफ्नो सम्पर्कमा रहेका व्यक्तिमा कोरोनाभाइरस पुष्टि भएको थाहा पाउनु भयो र त्यसपछि आफूलाई पनि लक्षण देखियो भने अहिलेको समयमा कोरोनाभाइरस हुनसक्ने सम्भावना बढी हुन्छ। यद्यपि यसका लागि परीक्षण नै निर्णायक हुन्छ।
हेम शर्मा: कोरोनाभाइरस महामारीबाट केही अनुभव लिएर तेस्रो लहरले झन् उग्र रूप नलियोस्। तेस्रो लहर को तयारी आम समुदायले कसरी गर्ने?
डा. गौतम: यसका दुई वटा पाटा छन्। तेस्रो लहर सकभर नआओस् भन्ने हामी चाहन्छौँ। तर हाम्रो चाहनाले मात्रै हुँदैन।
तेस्रो लहर नआओस् भनेर सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा मास्क लगाउने, दुई मिटरको दुरी कायम गर्ने, हात धुने र स्यानिटाइजर गर्ने नै हुन।
यी कुरा छाड्नु हुँदैन। यसले अब दुई चार वर्ष हामीलाई छोड्दैन। त्यस कारण यो फेरि नआओस् भनेर ती कुरा गर्नुपर्छ।
सरकारले पनि सीमाहरू र मानिसहरू नेपाल प्रवेश गर्ने विन्दु व्यवस्थित गर्नुपर्छ।
त्यसका साथै अस्पतालहरूमा शय्या, अक्सिजन, भेन्टिलेटर र परीक्षणका लागि किटहरूको व्यवस्थापनका विषयमा सरकारले फेरि अर्को लहर पनि आउँदै छ है भनेर छिटोछिटो तयारी गरेर जानु पर्छ।
सबै नेपालीले सावधानी अपनाए, सीमामा व्यवस्थापन गर्न सकियो र बिरामी परे निदानका लागि परीक्षण राम्रोसँग गर्न सकियो भने तेस्रो, चौथो जुनसुकै लहर आए पनि हामीले त्यसलाई नियन्त्रण गर्न सकिन्छ।
समय अधिकारी: सुरुमा हावाबाट कोरोनाभाइरस सर्छ भनियो। पछि सर्दैन भनियो। अहिले फेरि सर्छ भनिँदै छ। किन? यो पटक सङ्क्रमण किन धेरै?
डा. पुन : कोरोनाभाइरस हावाबाट सर्छ भन्ने कुरा यस अघिको लहरका बेला समेत चर्चा भएको थियो। दुई सयभन्दा बढी अनुसन्धानकर्ता र वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनलाई खुला पत्र लेखेका थिए जसमा यो हावाबाट सर्छ भनिएको हो।
तर यो हावाबाट सर्छ भन्ने बित्तिकै घर बाहिर वा चौरमा जाँदा सर्छ भन्ने होइन। सामान्यता एउटै कोठामा धेरै जना भएको र हावा आवतजावत गर्ने व्यवस्था नभएको अवस्थामा सर्न सक्ने भनेर अनुसन्धानहरूले देखाएको छ।
अहिले यो समयमा परिवारका अधिकांश सदस्य सङ्क्रमित भएको देखिन्छ। पहिलो कुरो त कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र गतिमा फैलिन्छ भन्ने कुराको पुष्टि भइसकेको अवस्था छ।
त्यो एउटा कारण हुनसक्छ भने अर्को चाहिँ हामीले परिवार भित्र पसिसकेको पत्तै पाएनौँ। र तत्पश्चात् निषेधाज्ञा भयो र घरमा बसिराख्दा परिवारका धेरै सदस्य सँगै सङ्क्रमित हुने क्रम भयो।
जनस्वास्थ्यको मापदण्ड अनुसरण भएन र घरमा पनि धेरै ध्यान दिन नसकेको हुँदा फैलिएको हो।
एड्सको लागि बनेको औषधि कोरोनामा किन परीक्षण गरिँदै छ र हामी किन त्यही रेम्डेसिभिरखोज्दै छौँ?
रेम्डेसिभिरको वास्तवमा इबोलाका लागि भनेर बनाइएको औषधि हो, एड्सको लागि होइन।
यो त्यसका लागि प्रयोग गरिएता पनि कोरोनाभाइरसको महामारीमा विभिन्न एन्टीभाइरल औषधि प्रयोग गर्ने क्रम सुरु भयो। जसमा चाहिँ यो रेम्डेसिभिरले केही फाइदा भएको हो कि भन्ने कुरा आएको छ।
अमेरिकाले यसलाई स्वीकृत पनि गरेको छ। र उसको अनुसन्धानको नतिजाले पाँच दिन अस्पताल भर्नाको लम्बाइ घटाएको भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठनले भने यसको प्रभावकारिता छँदै छैन भन्ने किसिमको नतिजा निकालेको अवस्था छ।
यद्यपि नेपालमा यसको व्यापक माग देखिन्छ। चिकित्सकहरूको अनुभव लिने हो भने कसैलाई ठिकै काम गरेको कसैलाई नगरेको भन्ने छ।
यसको मतलब यो ठिक हो भन्ने कुरा होइन रहेछ भन्ने कुरा बुझिन्छ। तर पनि मानिसहरू कोरोनाभाइरसका कारण जब आइसीयू वा भेन्टिलेटर पुगेका बेला चिकित्सकले केही हुन्छ कि भनेर लेखिदिएको हुन्छ।
अर्को चाहिँ बिरामीका आफन्तले औषधि चलाउन पाए हुन्थ्यो भन्ने आशय देखाउने हुँदा अहिले पनि यसको माग उत्तिकै देखिन्छ।
दुपन राई : होम आइसोलेशनमा बसेका व्यक्तिले चाँडै निको हुनलाई के-के कुरामा ध्यान दिनुपर्छ?
डा. गौतम: होम आइसोलेशनमा (घरमै एकान्तवासमा बस्नु) बसेकाले छिटो ठिक हुन पहिलो कुरा त मनोबल उच्च बनाउने। अरूको सम्पर्कमा नआउने।
मास्क लगाउने, आफ्नो सामान आफै धुने। मन लागेको कुरा पढ्ने, लेख्ने, सिनेमा हेर्ने। आफूलाई व्यस्त बनाउने।
आधा घण्टाभन्दा बढी एकै ठाउँमा नबस्ने र राम्रोसँग खाना खाने।
समस्या परेको खण्डमा कहाँ खबर गर्ने हो स्वास्थ्य संस्थामा नम्बर पनि टिपेर राख्ने।
आचार्यजी: यो भाइरस कहिले सकिएला?
डा. पुन : तत्काल यो समयमा गएर सकिन्छ वा ओरालो लाग्छ भन्न नसकिएता पनि पछिल्लो तथ्याङ्कले केही स्थिर भएको देखिन्छ। यो चाहिँ हामीले अझै केही दिन हेर्नुपर्ने हुन्छ।
बढ्ने क्रम जारी नभएकाले यसलाई हामीले राम्रै मान्नु पर्छ। कमी हो होइन साँच्चै हेर्न चाहिँ केही दिन अरू हेर्नुपर्ने हुन्छ।
बोधनाथ पौडेल: मास्क कति दिनसम्म प्रयोग गर्न सकिएला ? एउटा मास्कको सट्टा दुई वटा मास्क प्रयोग गर्दा बढी सुरक्षित भइन्छ ?
डा. पुनः सामान्यता पहिले हामीले एउटा मास्क लगाउने गरेकामा पछिल्लो समय दुई वटा भनिएको छ।
पक्कै पनि दुइटा मास्क लगाउँदा केही न केही प्रभावकारी हुन्छ भन्ने छ।
हामीले लगाउने मास्क फरकफरक किसिमको हुन्छ। विशेषगरि बढी प्रयोग गरिने मास्कमा सर्जीकल मास्क, कपडाको मास्क र एन-९५ मास्क हुन।
एन-९५ भनेको अस्पतालमा स्वास्थ्यकर्मीहरूले लगाउने मास्क हो।
सर्जीकल मास्क 'युज एन्ड थ्रो' अर्थात् एक पटक प्रयोग गरेपछि फेरि प्रयोग नगर्दा राम्रो हुन्छ।
धोएर लगाउँदा पनि पत्रहरू बिग्रिएर जति मात्रामा फाइदा हुनुपर्ने हो त्यति फाइदा नहुन सक्छ।
कपडाको मास्क पनि प्रभावकारी छ भनिएको छ। यसलाई भने धोएर पनि प्रयोग गर्न सकिन्छ।
नर्मजङ्ग रोकाया: कोरोनाभाइरस कति दुरीसम्म हावाको माध्यमबाट फैलिन सक्छ? पुनः सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ कि रहँदैन? सबैलाई घरबाट निस्किन नदिने गर्न मिल्छ कि मिल्दैन?
डा. गौतम: सबैभन्दा पहिले त रोग नलागोस् भनेर मानिसहरू आफैले ध्यान दिनुपर्छ।
सरकारले कडा गरेर नियन्त्रण गर्नुपर्ने कुरा दुखद हो। मानिस आफै चनाखो भएर बस्नुपर्छ।
हावाबाट कोरोनाभाइरस सर्दैन। थुकको छिटाबाट यो सर्ने हो।
मास्क लगाएको खण्डमा दुई मिटर टाढाको दुरीमा रहँदा यो सर्दैन।
तर कुनै कोठामा धेरै मान्छेहरू पोजेटिभ भएर बसे र त्यहाँ हावा राम्रो सञ्चालन भएन भने त्यसबाट पनि कहीँ कतै सरेको भन्ने रिपोर्ट आएको छ। त्यस कारण कोठाको झ्यालढोका खोलेर हावा सञ्चालन हुने गरी बस्नुपर्ने हुन्छ।
कोरोनाभाइरस लागिसकेका जोकोहीलाई पुन लाग्न सक्छ।
देवकी भट्ट: कोरोनाभाइरसबारे जति मान्छे त्यति नै कुरा हुने गरेका छन्। यसपटक कोरोनाका लक्षण वास्तवमा के-के हुन्?
डा. पुनः (पहिलेको र अहिलेको लक्षणमा) तात्त्विक भिन्नता छैन।
अहिले पनि मैले धेरै बिरामीहरूको लक्षण हेर्दा खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन्छ।
पछिल्लो समय बान्ता आउने, पखाला लाग्ने र जिउ चिलाउने गरेको भनिएको छ।
ती कुराहरूको आधारमा कोरोनाभाइरस हो या होइन भन्ने कुरा यो गर्मी महिनामा सहजै अनुमान गर्न सकिँदैन।
तर यदि खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, स्वाद वा गन्धमध्ये एक वा दुवैमा समस्या आयो भने कोरोनाभाइरसबाट सङ्क्रमित भएको हुने सम्भावना बढी हुन्छ। यद्यपि परीक्षण भने गर्न आवश्यक हुन्छ।
रवि पौडेल: कोरोनाभाइरस अब विश्वव्यापी समस्या भयो। यो भाइरसको उत्पत्ति कसरी भयो? कृपया स्पष्ट पारिदिनु होला।
गत वर्ष बीबीसीमा प्रकाशित एउटा सामग्रीका अनुसार आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामाकरण गरेका थिए।
भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो।
सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो।
चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।
उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ भनिन्छ।
बिबिसी