परिचय -
अटिजम एक प्रकारको न्यूरो डेभलोमेन्टल इस्यु हो । बालबालिकाहरुमा उमेर बढ्दै जाँदा सामाजिक तथा साँस्कृतिक घुलमिलमा कमी हुँदैं जाने अवस्थालाई अटिजम भनिन्छ । अटिजमको समस्या भएका बालबालिकाहरु स्कुलमा साथीसँग समेत घुलमिल हुन सक्दैनन् । आजकाल जनचेतनाको स्तर बढ्दै गएकोले सुरुवाती अवस्थामा नै यस रोगको पहिचान हुने गर्छ ।
कुन उमेर समूहका बालबालिकामा यस्तो समस्या देखा पर्छ ?
जुनसुकै उमेरका बालबालिकामा पनि यस प्रकारको समस्या देखिन सक्छ । उपचार लागि आउने संख्याका आधारमा भन्ने हो भने आर्थिक अवस्था सबल भएका बालबालिकाहरुमा यो रोग बढी मात्रामा देखिएको छ ।
अभिभावकहरु शिक्षित भएका कारण पनि यस्ता बालबालिकाहरुमा समस्याको पहिचान चाँडै भएको हुनसक्छ । पोष्ट कोभिडपश्चात् बालबालिकामा अटिजम हुने संख्या बढ्दैं गइरहेको छ । २ वर्ष भन्दा कम उमेरका धेरै मोबाईल चलाउने बच्चाहरुमा अटिजमको समस्या बढी देखिएको छ । मोबाइल बढी हेर्ने बच्चाहरुमा सिकाईको स्तर कमजोर हुने भएकोले पनि अटिजम बढेको हो ।
अटिजम कारणहरु धेरै हुन सक्छन् । कुनै पनि प्रकारको सिन्ड्रोम भएका बालबालिकाहरुमा अटिजम हुने सम्भावना धेरै हुन्छ । इन्जाइमको स्तरले पनि अटिजममा फरक पारेको देखिन्छ । बच्चा जन्मिनु अगावै साल नाल घाँटीमा बेरिनु, लामो व्यथा सहेर जन्मेका बच्चा तथा नवजात शिशु हुँदा विभिन्न इन्फेक्सन भएका बच्चाहरुमा अटिजम हुने सम्भावना धेरै हुन्छ । यसका साथै धेरै कारणहरुले अटिजम हुने गर्छ ।
बालबालिकालाई अटिजम भएको अभिभावकले कसरी थाहा पाउने ?
आफ्ना बालबालिकामा अटिजम भएको अभिभावकले ६ महिनादेखी नै थाहा पाउन सक्छन् ।बच्चा जन्मेर ६ महिनाको हुँदासम्म अधिकांश बच्चाहरु बुबा आमा देखेपछि मुस्काउने गर्छन् । यद्यपि अटिजमको समस्या हुँदा बालबालिकाहरु कम मुस्काउने गर्छन् । यस्तो समस्या भएका बालबालिकाहरु १ वर्षको भइसक्दा पनि बुबा आमा राम्रोसँग चिन्न सक्दैनन् । उनीहरु बुबाआमाको वास्ता नै नगरी एकोहोरो आफ्नो धुनमा मात्रै हुने गर्छन् ।
अटिजम भएका बालबालिकाको उपचार कसरी गरिन्छ ?
अटिजम एकै खाले रोग मात्रै नभई धेरै रोगहरुको संगालो हो । यस्तो समस्या भएका बालबालिकालाई विभिन्न प्रकारका तालिमहरु दिएर पनि उपचार गर्ने परिपाटी छ । नेपालमा अटिजम भएका बालबालिकालाई लक्षित गरी स्कूल समेत खोलिएको छ । उपचारका क्रममा आएका बिरामीलाई अटिजम भए नभएको निर्धारण गरी हामीले उपचारका लागि विभिन्न ठाउँमा रेफर गर्छौं । अटिजम रोकथामको तालिमका लागि भने हामीले काठमाडौं नै रेफर गर्ने गरेका छौं । नेपालमा अटिजमको उपचारका लागि अटिजम केयर सोसाइटीको स्थापना गरिएको छ । यसका विभिन्न शाखाहरुले अटिजमको उपचार गर्दै आइरहेको छ । उपचारका लागि आइपुग्ने केही बालबालिकाहरु एकदमै झगडा गर्ने,रिसाउने खालका समेत हुन्छन् ।
के अटिजम भएका बालबालिकाहरु उपचार पश्चात् पुरानो अवस्थामा फर्किन्छन् ?
अटिजम लामो समयसम्म पनि रहिरहन सक्ने वंशाणुगत, वातावरणीय तथा सामाजिक कारणले लाग्ने स्नायु सम्बन्धि रोग हो । यद्यपि उपचार पछि भने बालबालिकाहरु आफ्नो काम आफैं गर्न सक्ने हुन्छन् । उपचार पश्चात् सबै बालबालिकाहरु पूर्णरुपमा स्वस्थ हुन्छन् भन्ने ग्यारेन्टी भने छैन ।
बालबालिकालाई अटिजम हुनबाट कसरी बचाउने ?
बालबालिकाहरुलाई अटिजमबाट बचाउनका प्रमुख दुई विधीहरुको प्रयोग गर्न सकिन्छ । जसमा बच्चा जन्मनु अगाडि र जन्मेसकेपछि गर्ने हेरचाह पर्छन् । कतिपय बच्चाहरु ठूलो भइसक्दा पनि चनाखो हुन सक्दैनन्, त्यस्ता बच्चाहरुमा अटिजमको समस्या हुनसक्छ । आजकाल बालबालिकाहरुमा मोबाइल प्रयोग एकदमै बढ्दै गएकोले अटिजमको समस्याबाट बचाउन बालबालिकालाई मोबाइल कम दिने गर्नुपर्छ । सकेसम्म उनीहरुका लागि शान्त वातावरणमा सृजना गरिदिनुपर्छ ।