काठमाडौं । जुम्लाका ८ वटै स्थानीय तहका करीब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट संक्रमित भएका छन्।
जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार ५०० गाईभैंसी, गोरु, बाछाबाछी संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।
कार्यालयबाट स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ । स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ।
रोगबाट मरेका पशुको संख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्राचार गरिएको छ। यकिन तथ्यांक आउन केही हप्ता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिए।
जिल्लाका स्थानीय तहका करीब ५०० गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ । खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका ९ वटै वडाका स्थानीयको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । पालिकाको सबैभन्दा बढी वडा नम्बर २ का पशु लम्पी स्किनबाट संक्रमित भएका छन्।
वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ । वडा नम्बर १ मा पनि व्यापक रूपमा रोग फैलिएको स्थानीय नरबहादुर रावतले जानकारी दिए ।अहिलेसम्म ३ हजार गाईभैंसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ । रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
गाईभैंसीमा रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगा लगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईवस्तुको ओसारपोसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।