काठमाडौं । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । तर, आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ कि सर्दैन भन्ने प्रश्न छ ।
पछिल्लो समय देशभर पशुहरू लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर, लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरू बताउँछन् । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताए । उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए । उनले आजसम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए ।
लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चौंरीमा देखिने गरेको छ । डा.ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए । यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दूध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ ।
यस वर्ष हालसम्म लम्पी स्किन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ । डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रूपमा फैलिएको जानकारी दिए । २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा.ढकालले लम्पी स्किन एक किसिमको भाइरसले लाग्ने संक्रामक रोग भएको बताए । उनले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताए । यसका लक्षणहरूमा छालामा घाउ नै घाउहरू देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरू बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ । अहिले लम्पी स्किन भाइरसविरुद्धको खोप स्थानीय पालिकामा उपलब्ध रहेको डा. ढकालले बताए । संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उनले एउटा पशुले गर्दा हजारौं पशुहरू संक्रमित हुनसक्ने बताए ।
महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भूमिका उल्लेखनीय रहने बताए । बिरामी पशुलाई चरनमा लैजान नहुने उनको सुझाव छ । जैविक सुरक्षाको पालना गर्नुपर्ने भन्दै उनले पछिल्लो समय संक्रमित पशुहरूको संख्या भन्दा संक्रमणमुक्त पशुहरूको संख्या बढ्दै गएको जानकारी दिए ।
देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । डा.ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताए । यो रोग मौसमसँग पनि जोडिएको छ । वर्षायाममा किराहरूको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरूले रोग सार्न सक्ने हुनाले तिनीहरूको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरू बताउँछन् ।
संक्रमण भइहाले तत्कालै नजिकैको पशु कार्यालय, स्थानीय निकाय, पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सकिने र यो रोग लागेपछि पशुको मृत्युको कारण ज्वरो रहेको विज्ञहरूको सुझाव छ । लम्पी स्किनविरुद्ध अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको पशु सेवा विभागले जनाएको छ ।