काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ बृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले बीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गरे ।
मन्त्री बस्नेतले भने, “सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ ।”
सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने धारणा राखे । स्वास्थ्य मन्त्री बस्नेतले भने, “उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शैय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ ।”
मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयन्न गरिरहेको बताइन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइ रहेका मिर्गौला रोग पीडितलाई डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले सहयोग गरिरहेको बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अङ्गदानका लागि प्रेरित गर्न जनचेता अभियानअघि बढाउने र सकारात्मक सन्देश थालनी फैलाउने कार्यमा आफै अग्रसर हुन आवश्यक रहेको बताए ।