काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् ।
ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन् ।
एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।
ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् ।
ढाड बाँगिने समस्या छोराहरु भन्दा छोरीहरुलाई बढी देखिने पनि अध्ययनहरुले देखाएको डा. बिजुक्छेले बताए । धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उनले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताए । बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाँगोपना उपचार कसरी गर्ने ? उपचार पद्धति केके छन् भन्ने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘ढाडको बाँगोपना भनेको अहिले नेपालमा जल्दोबल्दो समस्या पनि हो । ढाडको बाँगोपनाको उपचार नेपालमा सम्भव छ । नेपालमा हामिले सक्सेसफुल्ली गरिरहेका छौं । यसको उपचारको रिजल्ट पनि विश्वको उत्कृष्ट अस्पतालको जस्तै छ ।
नेपालमा उपचार पनि त्यही लेभलमा हुन्छ भन्ने जनचेतना जगाउनपनि कार्यशालाको आयोजना गरिएको हो । दोस्रो अब आउने पुस्तालाई ढाडको बाँगोपनाको उपचार कसरी गर्ने ? यसको उपचार पद्धती के के छन् ? भन्ने कुराको तालीम दिनको लागि हामीले एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको आयोजनामा ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलमा एक दिने कार्यशाला गरेका हौं ।
कार्यशालामा देशभरका चिकित्सकहरुको सहभागिता छ । अर्थोपेडीक सर्जन जो स्पाइन सर्जरी गर्न इन्ट्रेस्ट राख्नुहुन्छ । जसले भविष्यमा म स्पाइन सर्जरी गर्छु भनेर इन्ट्रेस्टेड हुनुहुन्छ । उहाँहरुलाई हामीले समेटेका छौं । यो स्कोलीओसीस सर्जरी भन्ने कुरा धेरै स्पाइन सर्जनहरुले गरिरहेका छन् । नेपालमा सिमित चिकित्सकहरुले मात्रै स्कोलीओसीस सर्जरी गर्छन् ।
तर, नेपालमा डिमान्ड धेरै नै भइसक्यो । नेपालको जनताले पनि सहज रुपमा यो सुविधा पाउनुपर्छ, काठमाडौंमै आउन नपरोस् । काठमाडौं बाहिर पनि यसको सेवा सुविधा होस् भन्ने हिसावले चिकित्सकहरुलाई तालिम दिएर प्रोबलम(समस्या)लाई एड्रेस गर्ने उद्देश्य यो तालिमको हो । यो तालिममा अर्थोपेडिक्स रेजीटेन्सहरु, अर्थोपेडिक्स सर्जन र स्पाइन सर्जरी प्रयाक्टिस गरिरहेकाहरु कार्यशालामा सहभागी हुनुहुन्छ ।’
नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का उपाध्यक्ष समेत रहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताए । उनले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाँगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपनाइ शतर्क गराउँदै आएको बताए ।
उनले भने, ‘ढाड बाँगिने रोग धेरैजसो १६ वर्ष मुनिका बच्चाहरुमा देखिने रोग हो । नर्मल पपुलेसनको ०.५ प्रतिशतमा अलिकती ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथीको ढाड बाँगिएको छ भने त्यसले प्रोबलम दिनसक्छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण जनचेतना पनि फैलाउँदै आएका छौं । विद्यालय सचेतना कार्यक्रम पनि गरिरहेका छौं । अहिले हामीले जुनीयर चिकित्सकदेखि सिनियर चिकित्सकसम्म एकेडेमिक एक्टीभिटीज गरिरहेका छौं ।
नेपालमा बच्चा जन्मिसकेपछि आमाहरुले ढाडमा मालिस गरिदिने तेल लगाउने बानि हुन्छ । तेल लगाउँदा खेरी घोप्टो पारेर बच्चालाई तेल लगाइन्छ । त्यतिखेर ढाडमा आफ्नो औंलाले टाउकोदेखि तलसम्म ढाड कतै बाँगो छ की सिधा छ भनेर विचार गर्ने गर्नुपर्छ । कतै सुन्निएको जस्तो छ की भनेर ख्याल गर्नुपर्छ । बालिकाहरु विद्यालय जान थालेपछि अभिभावकले ढाड पछाडीबाट हेर्नुपर्छ । एउटा कुम अर्को कुम भन्दा माथि छ की ? ढाड अलिकति बाँगिएको छ की, सबै ठिक छ भनेर हेर्नुपर्छ । शिक्षकले पनि अब्जर्भ गर्नुपर्छ । ’
ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् ।