परिचय –
ल्याप्रोस्कोपी सर्जरी नेपालका लागि नयाँ प्रविधि हो । नेपालमा सर्जरीका लागि यो विधिको प्रयोग हुन थालेको १५ – २० वर्ष भएको छ । यो दुरबिनको मार्फत बाट गरिने सर्जरी हो । यो विधी सबैभन्दा बढी पित्तथैलीको सर्जरीमा प्रयोग हुन्छ ।
यद्यपि पछिल्लो ४–५ वर्ष यता नेपालमा अन्य प्रकारका सर्जरीहरुमा पनि ल्याप्रोस्कोपी प्रविधिको प्रयोग हुने गरेको छ । हर्निया, एपेन्डिएक्स तथा पेटको अरु सबै प्रकारको सर्जरी गर्नका लागि यो विधीको प्रयोग गरिन्छ । महिलाहरुमा पाठेघरको सर्जरीका लागि पनि यो विधि प्रयोग गर्न सकिन्छ ।
ल्याप्रोस्कोपी सर्जरी कसरी गरिन्छ ?
पुरानो प्रविधिबाट अप्रेशन गर्दा बिरामीलाई बेहोश पारेर जुन अङ्गमा ट्युमर वा समस्या छ त्यसलाई चिरेर गरिन्छ ।यस विधिमा १– २ सेन्टिमिटरको प्वाल वा दुलो बनाइन्छ ।
जसमा कार्बनडाइअक्साइड ग्यासको समेत प्रयोग गरिन्छ । तर, ल्याप्रोस्कोपी सर्जरी गर्दा अप्रेशन गर्ने अङ्गमाथि १ सेण्टिमिटरको प्वाल पारेर क्यामरा छिराइन्छ । पेटभित्रको अङ्गको अप्रेशन गर्दा पेटभित्र छिराइएको क्यामेरा घुमाएर सबै अङ्गको अवस्था हेरिन्छ ।
त्यसपछि अप्रेशन गर्ने अङ्गको माथि अरू आधा–आधा सेण्टिमिटरका तीन-तीनओटा प्वाल पारेर औजारहरू छिराएर सर्जरी गरिन्छ । हामीले क्यामेरा छिराएर भित्रको दृश्य हेरेर कुन ठाउँबाट कुन एङ्गलबाट औजार छिराउनुपर्ने हो, त्यो ठाउँ पत्ता लगाउँछौं । साथै, औजार छिराउने छालामाथि प्वाइण्ट बनाउँछौं र औजार छिराउने गरिन्छ । ती औजारहरू हातले नै बाहिरबाट चलाएर सर्जरी गरिन्छ । पहिला सर्जरी गरिसकेको अवस्थामा भने ल्याप्रोस्कोपी सर्जरी गरिदैंन ।
ल्याप्रोस्कोपी सर्जरीका फाइदाहरु
– सबैभन्दा महत्वपूर्ण फाइदा भनेको यस विधीबाट सर्जरी गर्दो दुखाइ कम हुन्छ ।
– यस विधीबाट सर्जरी हुँदा बिरामी छिटो ठीक हुने भएकाले अस्पताल पनि कम बसे पुग्छ ।सर्जरी गरेको बढीमा ४८ घन्टासम्म बिरामी डिस्चार्ज भइसक्छ ।
– सर्जरी पश्चात् घाउ नपाकोस् भनेर एण्टिबायोटिक औषधि चलाउनुपर्ने हुन्छ । यस विधिबाट सर्जरी हुँदा औषधिको कम आवश्यकता पर्छ ।
– यस विधिबाट सर्जरी गर्दो पेटको कम भाग मात्रै चिर्ने भएकोले दाग थोरै मात्र बस्छ ।
कस्ता व्यक्तिलाई ल्याप्रोस्कोपिक सर्जरी गर्न मिल्दैन ?
खास गरेर मुटु रोग भएका वा मुटुको कुनै पनि शल्यक्रिया गरिएको व्यक्तिलाई ल्याप्रोस्कोपिक गर्नु भन्दा पहिला जाँच गरिन्छ र कुनै पनि समस्या देखियो भने सर्जरी गर्न मिल्दैन।
ल्याप्रोस्कोपिक सर्जरी भन्नेबित्तिकै पेटमा कार्बोनाइड ग्यास हालेर पेटलाई फुलाएर गरिन्छ। मुटुको समस्या भएका व्यक्ति, पेट पहिला चिरेरको अवस्था तथा फोक्सोमा समस्या हुँदा ल्याप्रोस्कोपिक सर्जरी गर्न मिल्दैन ।
कतिको महँगो
पुरानो सर्जरीको प्रक्रिया भन्दा केही महँगो भएपनि धेरै महँगो विधी भने छैन । अस्पताल अनुसार ३० हजारदेखी १ लाखसम्म यस विधीद्वारा सर्जरी गरिन्छ । यो प्रविधिमा प्रयोग गरिने औजारहरु महंगो हुने भएकोले यो विधि केही महँगो भएको हो ।
तर चिरेर गरिने सर्जरीमा चाहिने रगत , औषधिको धेरै प्रयोग , अस्पताल धेरै बस्नु पर्दा चार्ज लगायतका कुराहरु भने कटौती हुने गर्छ । कम औषधि चलाइने तथा अस्पताल कम बस्नुपर्ने हुँदा त्यसबाट खर्च बँचिरहेको हुन्छ ।