परिचय –
सामान्यतया घाँटी दुख्यो, टन्सिल भयो भनेर बिरामीहरु अस्पतालमा आउने गर्छन् । टन्सिल भयो भनी धेरैले चिकित्सककहाँ नगई औषधि पसलबाट औषधि लिएर खाने गर्छन् । यसरी चिकित्सकको सल्लाहबिना औषधि पसलबाट सिधै औषधि ल्याएर खाँदा कतिपयले टन्सिल नहुँदा पनि एन्टियोबायोटिक खाने गरेका छन् ।
जिब्रो खोलेर हेरेकै आधारमा टन्सिल ठूलो सानो भएको निर्धारण गर्न मिल्दैन । चिकित्सकले जाँच गरिसकेपछि टन्सिल ठूलो सानो भएको निर्धारण गर्ने हो । आजकाल बिरामीहरु टन्सिल नहुँदै पनि टन्सिल भयो भनेर एन्टिबायोटिक खाने गर्छन् ।
कुन अवस्थामा टन्सिलको औषधि खाने ?
जब बिरामीहरु उपचारका लागि चिकित्सककहाँ आइपुग्छन्, चिकित्सकले जाँच गरिसकेपछि टन्सिलको भाग पहेलों भएको तथा पाकेको पत्ता लगाएमा चिकित्सककै सल्लाहमा टन्सिलको औषधि सेवन गर्न सकिन्छ ।
टन्सिलका कारण ज्वरो आएको अवस्था, बिरामीले खानेकुरा निल्न नसकेको तथा दुखाइ एकदमै भएको अवस्थामा हामी एन्टिबायोटिक चलाउने गर्छाैं । दुखाई अलि अलि भएको अवस्थामा हामीले एन्टिबायोटिक प्रयोग गर्न दिदैनौं । घाँटीको दुखाइ सामान्य भएका गाउँघरका बिरामीहरुलाई हामी नुनपानीले कुल्ला गर्न भन्छौं ।
टन्सिल बिग्रँदा कुन अवस्थामा गर्नुपर्छ शल्यक्रिया ?
वर्षमा ३ पटक भन्दा बढी घाँटीको दुखाइ एकदमै अवस्थामा टन्सिलको शल्यक्रिया गर्नुपर्ने हुन्छ । कहिलेकाही टन्सिल हुँदा माथिल्लो भागमा पिप जमेको अवस्थामा एन्टिबायोटिकको प्रयोग गरेर हामीले शल्यक्रिया गर्ने गर्छाैं । बारम्बार टन्सिलको समस्या भएमा त्यसका कारण मुटुमा समेत असर पर्न सक्छ । मुख्यतया यसले मुटुको भल्भमा असर गर्छ । वर्षमा ३ पटक भन्दा बढी टन्सिल भएमा मात्रै चिकित्सकले बिरामीलाई शल्यक्रियाको लागि सल्लाह दिने गर्छन् ।
टन्सिल हुनबाट कसरी बँच्ने ?
-कतिपयलाई चिसो, पिरो, अमिलो खानेकुराको सेवनले एलर्जी हुने गर्छ । यस्ता खानेकुराबाट एलर्जी हुनेहरुले त्यस्ता खानेकुराको सेवन गर्नुहुँदैंन ।
-गलालाई असर पार्ने पदार्थहरू र एलर्जीजन्य तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने
-घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलाई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ।
-चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ।