काठमाडौं । लामखुट्टेको टोकाइको कारण लाग्ने डेङ्गु रोगको संक्रमण मकवानपुर बढ्दो अवस्थामा देखिएपछि लार्भा खोज र नष्ट गर भन्ने अभियानमा बागमती प्रदेश सरकार लागेको छ । बागमती प्रदेशमा डेङ्गु सक्रमितहरुको संङ्ख्या बढ्न थालेपछि प्रदेश सरकारले यो अभियान थालेको हो ।
विशेष गरी गर्मीको समयमा बढ्ने डेङ्गु संक्रमण पछिल्लो साता बढ्दो अवस्थामा रहेको प्रदेश स्तरीय तथ्याङ्कले देखाएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ ।
संक्रमण नियन्त्रणको लागि लामखुट्टेको टोकाइबाट बच्नु जरुरी छ । यसको लागि सङ्क्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो। वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालले बताए ।
चालु आवमा डेङ्गीलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको सूचना अधिकारी भुसालले बताए । गत आवमा महामारीजन्य रोग नियन्त्रणका लागि एक करोड १४ लाख ३० हजार बजेट विनियोजन भएकोमा ९३ लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
सात महिनाको अवधिमा डेङ्गी सङ्क्रमणका कारण सबैभन्दा धेरै बागमती प्रदेशको धादिङ जिल्लामा देखिएको छ । यद्यपि प्रदेशका १३ वटै जिल्लामा डेङ्गी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो अवधिमा धादिङ जिल्लामा ५७६ जना डेङ्गी संक्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालले बताए । भुसालका अनुसार काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गी पुष्टि भएको हो । रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा तीन÷तीन जनामा डेङ्गी सङक्रमण भएको छ ।
पछिल्लो तथ्यांकले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गी रोग सङक्रमणको उच्च जोखिम देखिएको छ । साउन दोस्रो हप्तासम्म आइपुग्दा सङक्रमण भएका बिरामीको सङ्ख्या पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रूप लिने देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको छ ।
साउन महिनामा यो संक्रमणको दर झनै बढेको देखिन्छ । साउनको १५ दिनमा यस प्रदेशका आठ जिल्लामा छ सय जनामा सङक्रमण भएको छ । धादिङमा ४३८, काठमाडौँमा १२२, भक्तपुरमा आठ, ललितपुर र मकवानपुरमा ९÷९ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नुवाकोटमा पाँच, चितवनमा आठ र सिन्धुपाल्चोकमा एक जनालाई सङक्रमण भएको मन्त्रालयले जनाएको छ ।
“साउन दोस्रो सातासम्मै सङक्रमणको दर बढ्नु चिन्ताको विषय हो” मन्त्रालयका सूचना अधिकारी भुसालले भने, “पिक समय आउँदै छ, हरेक वर्ष भदौ, असोज र कात्तिक महिनामा सङक्रमण दर अझै बढ्छ।”
सङक्रमण बढेपछि धादिङ अस्पतालमा यसको उपचारका लागि पाँच सैयाको व्यवस्था गरिएको छ। धादिङमा सङक्रमण बढ्दै गएपछि बिरामीको उपचारका लागि सैया थप गरिने सूचना अधिकारी भुसालले बताए । जनवरीबाट धादिङमा ५७६ जनामा सङक्रमण भएको थियो ।
विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा लामखुट्टेको टोकाईबाट डेंगी लाग्न सक्दछ । यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।