काठमाडौं। सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णय अनुसार सो समिति गठन गरेको हो।
समितिमा प्राडा भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा रविमान श्रेष्ठ, प्राडा किरणप्रसाद श्रेष्ठ, प्राडा रत्नमणि गजुरेल, प्राडा सुवास आचार्य, प्राडा शशि शर्मा, प्राडा रमेश चाखनी, सह प्राडा ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकार सदस्य रहेका छन्।
नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको हो।