काठमाडौं। आमाको सुन्दरता बिग्रने गलत धारणाका कारण सहरिया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन्। एक तथ्यांकले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन्।
आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा ६ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशत मात्रै छन्। सो अनुसार सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरूको संख्या कम छ।
महाशाखाको तथ्यांकमा नेपालमा २२ प्रतिशतले दूधदानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूधदानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै । यसरी दूधधानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशत मात्रै छन् । यसमा न्यूनआय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन् ।भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा.ओम पाठक सहरिया, धनी र उच्च आर्थिक अवस्था भएकाहरूमा स्तनपान गराउनेको संख्या कम भएको बताउँछन् । बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उनी अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिन्छन् ।
सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रूपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको डा.पाठकको भनाइ छ । पूर्णरूपमा आमाको दूध खाने बच्चाको दिमाग तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उनी जोड दिन्छन् ।
बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्दछ । स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ । आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने डा.पाठक बताउँछन् । उनी भन्छन्, ‘आमा तनावमुक्त हुनुपर्छ ।’ सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ यद्यपि आमाले निचोरेर पनि दूध खुवाउन सकिने उनको सुझाव छ ।