काठमाडौं । यस वर्ष देशभर डेंगुका ७ हजार ७३३ संक्रमित फेला परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । यस अवधिमा सात जना डेंगु संक्रमितको मृत्यु भएको महाशाखाले जनाएको छ ।
सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु संक्रमणले अहिले प्रकोपको रुप लिएको छ।सुरुमा छिटपुट देखिएको संक्रमण सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो। त्यतिबेला सबैभन्दा धेरै संक्रमण चितवनमा भेटिएको थियो ।
हालसम्म ७४ जिल्लामा डेंगुका संक्रमित देखा परेका छन् । चालु आवमा देशभरमा गरी आठ जनाको मृत्यु भइसकेको छ । यसले थप भयावह लिनसक्ने स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।
डेंगु संक्रमण सन् २०२२ मा ५४, ७८४ जनामा देखा परेको थियो । त्यो वर्ष ८८ जनाको ज्यान गएको थियो । वाग्मती प्रदेशमा सबैभन्दा धेरै देखिएको डेंगु पोहोर साल बागमतीमा देखिएका झन्डै साढे ४२ हजार संक्रमणमध्ये ७० प्रतिशतभन्दा बढी काठमाण्डू, ललितपुर र भक्तपुरमा अभिलेख गरिएको थियो ।
यो वर्ष झन्–झन् बढ्दैछ । स्वास्थ्य मन्त्रालयले यो वर्ष डेंगु संक्रमण व्यापक रूपमा फैलन सक्ने सम्भावना रहेकाले सावधानी अपनाइनुपर्ने बताएको छ । यो वर्ष सबै जिल्लामा यो संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्न्सल्टेन्ट डा बिमल शर्माले विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने बताए ।
यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेउनी बताउँछन् ।