काठमाडौं । गोरखाको भीमेसन थापा गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर पालिकाभित्रका १२ हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको छ।
पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गर्दैै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए।
गत आर्थिक वर्षमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उनले बताए। गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँचलगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख खनालको भनाइ थियो।
गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन्। “बुढेसकालमा पिरबेथा लागि रहन्छ, वडानं ७ का ७७ वर्षीय मङ्गलबहादुर नेपालीले भने, “अहिले स्वास्थ्यकर्मीले आफ्नै घरमा आए चाँज गरेकाले आफैँ सकी नसकी अस्पताल धाउनुपरेको छैन।”
यस कार्यले स्थानीय सरकार नै हाम्रा लागि रहेछ भन्ने अनुभूति भएको उनले। अर्का ७५ वर्षकी दुर्गाकुमारी श्रेष्ठको उत्तै भनाइ थियो।
“सुगुर, प्रसेर, दम र नसा रोगले सताएकाले भनेको बेला अस्पताल जानसक्ने अवस्था नै थिएन”, उनले भने, “हामीजस्ता उमेर पुगेका बूढाबूढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ।”
चालु आर्थिक वर्ष सुरु भएसँगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिए। “यसै वर्षको साउन महिनामा मात्र पालिकाबाट एक हजार एक सय ७१ जनाको निःशुल्क जाँच तथा उपचार गरिसकिएको छ”, उनले भने, “उपचार गराएकामध्ये छ सय ८९ महिला र चार सय ८२ जना पुरुष रहेका छन् ।”