काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको संख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको संख्या बढेको पाइएको हो ।
बैंकमा पहिले दैनिक औसत ६ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त संख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ । बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको संख्यासँगै दूध संकलनको मात्रा पनि बढेको बताइन् । उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध संकलन हुने गरेको छ ।
गत वर्षको भदौमा औसत एक दिनमा १ हजार १ सय ६६ मिलिलिटर दूध संकलन भएकामा यो वर्षको असारसम्म आइपुग्दा त्यो बढेर १ हजार ६ सय ९१ मिलिलिटर पुगेको उनले जानकारी दिइन् । यस्तै गत वर्षको भदौमा ३६ जना आमाले दूधदान गरेकामा यो वर्षको असारमा उक्त संख्या ७० पुगेको छ । गत वर्षको भदौमा ३६ जना आमाबाट २४ हजार ५ सय ६५ मिलिलिटर दूध संकलन भएकामा यो वर्षको असारमा ७० जना दूधदाता आमाबाट ३९ हजार २ सय ५९ मिलिलिटर दूध संकलन गरिएको छ । सबैभन्दा बढी पुस महिनामा १ सय १९ जना दूधदाताबाट दूध संकलन गरिएको छ । बैंकका अनुसार असोजमा ३५, कात्तिकमा ३१, मंसिरमा ७९, माघमा ६०, फागुनमा ४८, चैतमा ८५, वैशाखमा ४६, जेठमा ५५ जना आमाबाट बच्चाका लागि दूधदान गरेका थिए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरू आमाको दूध संकलन गरेर खुवाउनका लागि बैंकको उद्घाटन गरेकी थिइन् । ‘आमाहरूमा त्यतिकै खेर गइरहेको दूध बैंकमा जम्मा गरेर अरू शिशुलाई खुवाउन सकिन्छ भनेर चेतना पनि बढ्यो’, उनले भनिन्, ‘हामीले पनि शय्यासम्म पुगेर खेर गइरहेको दूधलाई बैंकमा जम्मा गर्न आग्रह गर्दछौँ ।’बैंकमा हालसम्म ७ सय ४९ आमाबाट चार सय ५६ लिटर दूध संकलन गरिएको छ । जसमध्ये ४ सय ४८ दशमलव ८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८ सय ७३ शिशुलाई ३ सय ९९ दशमलव ८९ लिटर दूध शिशुलाई खुवाइएको पौडेलले बताए ।निर्मलीकरण गरिएको आमाको दूध ६ महिनासम्म शिशुलाई खुवाउन मिल्छ । अस्पतालले स्तनपान गर्न नसक्ने बच्चालाई दूधदाताबाट दूध संकलन गरी शिशुलाई खुवाउनका लागि बैंक सञ्चालन गरेको हो ।निर्धारित समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिने बित्तिकै रुन नसक्ने, हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेका बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ । सघन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध संकलन गरिन्छ ।
अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालमा भर्ना भएका आमालाई दूधदानको महत्व बुझाउने गरेको बताउँछन् । उनले प्रत्येक शय्यामा गएर आमाहरूलाई खेर गइरहेको दूधदान गर्न आग्रह गर्ने गरेको बताइन् । ‘आमाको दूध बच्चाका लागि अमृतसरह हो भनेर जनचेतना जगाउँदै दूध संकलन बढाएका छौँ’, उनले भने, ‘सात जना परामर्शदाताले बहिरंग विभाग र शय्या कक्षमा पुगेर आमाको दूधको महत्व बुझाएर दूधदान गर्नका लागि आग्रह गर्छन् ।’
बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको उनको भनाइ छ । शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई ल्याक्टोजेन मुक्त गराइएको उनले बताए ।एउटा बच्चालाई एक दिनमा न्यूनतम ८० मिलिलिटरदेखि २ सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ । दुई–दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । बैंकमा एउटा आमाबाट सामान्यता एक पटकमा दुई सयदेखि तीनसय मिलिलिटर दूध संकलन हुन्छ । एक जना आमाले एक दिनमा तीन घण्टाको फरकमा दूध सक्छन् ।
साधारण विधिबाट प्रसूति भएका आमाबाट दूध संकलन कम मात्रामा हुने गरेको उनको भनाइ छ । ‘सामान्य तरिकाबाट प्रसूति भएका आमाहरूको एक दिनमा नै डिस्चार्ज हुने गर्दछ’, उनले भने, ‘ती आमाबाट दूध संकलन एकदमै कमै मात्रामा हुन्छ ।’यस्तै समय अगाडि नै जन्मेका शिशुका आमाबाट दूध संकलन धेरै हुने गरेको छ । ती आमाले शल्यक्रियाबाट शिशु जन्माउने, आमा लामो समयसम्म अस्पतालमा बस्ने र बच्चाले पनि कम खाने भएकाले त्यस्ता आमाबाट दूध संकलन धेरै हुने गरेको उनले बताए । त्यस्ता आमाहरू अस्पतालमा औसतमा १० देखि १५ दिनसम्म बस्छन् ।
अझै अपुग दूध
बैंकमा दूधदान बढे पनि त्यो पर्याप्त नभएको बैंकको भनाइ छ । बैंकका व्यवस्थापक पौडेलले बैंकमा जम्मा भएको दूध भर्ना भएका ६० प्रतिशत शिशुलाई मात्र पु¥याउन सकेको बताँउछिन् ।‘अस्पतालमा अझै पनि दूध खान नसक्ने सबै शिशुलाई दूध पुर्याउन सकेका छैनौँ’, उनले भनिन्, ‘प्राथमिकताका आधारमा शिशुलाई दूध उपलब्ध गराउने गरेका छौँ ।’
बच्चालाई जन्मेदेखि ६ महिना नपुग्दासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । अस्पतालमा हाल ६ वटा इलेक्ट्रिक मेसिन र १२ वटा म्यानुअलबाट दूध संकलन गरिन्छ । दूध दिने आमामा कुनै रोग भए नभएको पनि परीक्षण गरिन्छ ।