काठमाडौं । पछिल्लो समय रुकुम पश्चिममा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ। रोगको संक्रमण तीव्र गतिमा बढेसँगै आँखा अस्पताल, जिल्ला अस्पताल, तथा स्वास्थ्य केन्द्रहरूलगायत निजी क्लिनिकमा बिरामीहरूको चाप बढ्दै गइरहेको बताइएको छ।
रुकुम पश्चिम जिल्ला अस्पतालका अनुसार जिल्लाभर पछिल्लो समय दैनिक चार–पाँच सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको बताइएको छ । स्वास्थ्य संस्थाहरूमा उपचार गर्न आउने बिरामीहरूको संख्यामा पनि आँखा पाक्नेसम्बन्धी समस्या भएका बिरामीहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्।
कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महसुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको महसुस हुने, आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिनेजस्ता लक्षण देखिने आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले बताए । केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरूपमा ३०–५५ जना आउने गरेको जानकारी दिए । विरामी हुनेहरूमा अधिकांश वालबालिका रहेको जनाइएको छ ।
त्यस्तै जिल्लाको चौरजहारी अस्पताल, आठविसकोट नगरअस्पताल, सानीभेरी, त्रीवेणी, बाँफिकोट लगायतका ६ वटै पालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरूमा आँखा पाक्ने रोगको समस्या देखिएको छ ।
चौरजहारी अस्पतालमा ८० प्रतिशतले आँखा पाक्ने रोग वृद्धि भएको अस्पतालमा कार्यरत नेत्र सहायक उमेश लामिछानेले जानकारी दिए । दैनिकजसो तीन सयभन्दा बढी उपचार गराउन आउने बिरामी मध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको लामिछानेले बताए।
भाइरसको संक्रमणपछि लगत्तै हुने ब्याक्टेरियाको संक्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौँका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा अधिकांश विद्यालयहरूमा अध्ययनरत बालबालिका, शिक्षक, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारण व्यक्तिहरू रहेको बताइएको छ।
रुकुम पश्चिमका पालिकाहरूमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत स्वास्थ्य संस्थाहरूमा आँखा पाक्नेसम्बन्धी रोगका बिरामीहरूको संख्या केही दिन यता बढेको बताइएको छ ।
आँखा पाक्ने रोग सामान्य भए तापनि यसको समयमै उपचार नगरेमा आँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलियाजस्ता सामानको अरूले प्रयोग नगर्ने, आँखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।