काठमाडौँ । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।
डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए। उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे।
डा मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।
सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौँ एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेङ्गुका बिरामी भेटिएका छन् ।