काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।
करिव ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्राडा शंकर राईले जानकारी दिए । पूर्वनिर्धारित उपचार प्रक्रिया अनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।
उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएको डा. राईले बताए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा. स्प्रौल आफ्नै खर्चमा डा. भण्डारीको शल्यक्रिया गर्न आएको जनाइएको छ ।
डा. स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
डा. भण्डारीको शल्यक्रिया डा. स्प्रौलसँगै प्राडा बिडी झा, प्राडा शंकरमान राई, सहप्राध्यापक किरण किशोर, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. प्रविन गिरी, डा. निजिना ताम्राकार र मोहनकृष्ण डंगोलसहितको टोलीले गर्नेछ ।
गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।