काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन्।
करीब ४ हजार मिटरको उचाइमा रहेको गुर्जाघाट गोठ तथा पशुचौपायाले भरिएको छ। तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन्। जेठ दोस्रो हप्तादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् ।
करीब ४ महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरूको दिनचर्या हो। गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरू यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन्।
बुकीमा एउटा पनि धारा छैन। गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन्। बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ।
तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् ।
बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरूका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो। गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौं,’ उनले भने । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ। अहिलेसम्म त्यहाँ सडक पुगेको छैन। बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताए।
‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौं,’ अध्यक्ष बुढा मगरले भने।