काठमाडौं । वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आएकी उनी र श्रीमानबीच अकस्मात झै–झगडा हुन थाल्यो ।
घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै बसेकी ती महिला र परिवारको खुसीका लागि विदेशी भूमिमा पसिना बगाएका श्रीमानबीचको झै–झगडा बढ्दै जान थाल्यो । जसको असर साना छोराछोरीमा पनि पर्न थाल्यो । श्रीमानले विदेशबाट पैसा पठाउन छाडे । घर खर्च चलाउन उनलाई धौधौ भयो ।
परदेशमा रहेका श्रीमान र घर चलाउँदै आएकी ती महिलाबीच दैनिक झै–झगडा हुने, श्रीमानले पैसा नपठाउँदा परिवारमा विचलन आयो । पछि उनी डिप्रेसनको रोगी बनिन् ।‘जो हो साहारा दिने उसैको सहारा नपाएपछि जिन्दगी नै उजाड भएजस्तो लाग्न थाल्यो, जतिबेला नि पिर चिन्ताले सताउन थाल्यो, हुँदाहुँदै रोगी बनेँ’, उनले भनिन्, ‘मनो–सामाजिक परामर्शकै कारण म अहिले निको हुँदै गएकी छु, जीउन सकिने धेरै बाटाहरू रैछन् भन्ने साहस र हिम्मत पाएकी छु ।’
औषधिभन्दा पनि मनो–सामाजिक परामर्शकै कारण आफ्नो दैनिकी फेरिनुका साथै सहजता भएको अनुभव उनको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत मनो–सामाजिक परामर्शकर्ताले घरमै पुगेर मनोसामाजिक र वित्तीय साक्षरताका बारेमा परामर्श दिएपछि सुधार हुँदै गएको महसुस उनले गरेकी छन् । ‘जब मनो–सामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी ज्ञान पाएँ तब दैनिकी फेरिँदै जान थाल्यो, अहिले सहज हुँदै गएको छ’, ती महिलाले भनिन्, ‘अहिले घरपरिवारमा खुसी छाएको छ ।’
वित्तीय साक्षरताले सानो सानो भए पनि वचत गर्ने तरिका सिक्न पाएकाले मासिक पाँच हजार वचत गर्न थालेकी छन् उनी । ‘मनो–सामाजिक परामर्श तथा वित्तीय साक्षरताले जिन्दगीको मोड लिएको छ’ उनले भनिन्, ‘अहिले दैनिक हिसाबकिताब कापीमा टिपेर राख्ने गरेकाले आम्दानी खर्च स्पष्ट हुन थालेको छ ।’
श्रीमान विदेश गएपछि घर धानेर बसेकी श्रीमतीले राम्रा लुगा लगाएर हिँड्दासमेत समाजले फरक तरिकाले हेर्ने गरेको बताउँछिन्, वालिङ–१३ की एक महिला । श्रीमानले विदेशमा सकी नसकी दुःख गरेको छ यहाँचाहीँ ऊ लुगा फेर्दै हिँडेकी छ भनेको सुन्नुपर्दा मन दुख्थ्यो । अझ समुदायकै केही केहीले त श्रीमानलाई भए नभएका कुरा लगाइदिने गरेकाले श्रीमान् श्रीमतीबीच झगडासमेत हुने गरेको थियो ।