काठमाडौं । पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा छन् ।
तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उनमा छ । उनी भन्छिन्, ‘मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसंगीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ, बाँझोपन निम्तिन्छ भन्ने सुनेकाले डर लाग्छ ।’
उनी मानसिकरुपमा त्यस्तो त्रासमा रहँदा उनका श्रीमानले पनि अस्थायी साधन प्रयोग गरेर त्यो समस्या दूर राख्न सक्थे तर श्रीमान् पनि अस्थायी साधनको प्रयोग गर्न रुचि नदेखाउने गरेको उनी बताउँछिन् ।
‘कहिलेकाहीँ यो यति तनावको विषय बन्छ कि श्रीमान् श्रीमतीबीचको सम्बन्ध राख्दा पनि कता बच्चा बस्छ कि भन्ने तनाव मात्र हुन्छ, बच्चा बस्यो भने मेरो पढाइ रोकिन्छ कि भन्ने त्रास सधैँ मलाई हुने गरेको छ’, उनी भन्छिन् । आफूले भन्दा श्रीमानलाई अस्थायी साधन प्रयोग गर्न धेरै चोटी अनुरोध गरे पनि रुचि नदेखाएको उनको भनाइ छ ।
एक निजी संस्थामा कार्यरत २४ वर्षीया अर्की महिला अनिच्छित गर्भ बसेपछि जागिर छोडेर घरमै बसेको बताउँछिन् । ‘बिहे भएको डेढ वर्ष भयो, अहिले पाँच महिनाको गर्भ छ, केही वर्ष सन्तान नजन्माउने सोच थियो तर मैले अस्थायी साधन प्रयोग गर्दा पछि बच्चा नबस्न सक्छ भन्ने सुनेँ, श्रीमानले पनि प्रयोग गर्न मान्नुभएन,’ उनले भनिन्, ‘अनिच्छित गर्भ बसेपछि गर्भपतन गराउन चाहेको तर सुरुमै गर्भपतन गर्यो भने अर्को बच्चा बस्दैन बाँझोपन निम्तिन्छ भन्ने सुनेपछि अहिले सबै छोडेर बसेको छु, गर्भमा बच्चा बसेदेखि नै मलाई विभिन्न समस्या देखिएपछि अहिले आराम गर्नुपरेको छ ।’